हेटौँडाः हेटौँडामा जारी स्वर्गीय सुदर्शन स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत सिमराको नव जागृती युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार हेटौँडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा भएको क्वाटर फाइनल खेलमा वीरगंज स्पोर्टसलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै नवजागृती सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित खेल समय १–१ गोलको बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । वीरगञ्जका सुजन डंगोलले खेलको ८ औँ मिनेटमा गोल गरेका थिए भने नवजागृतीका विकेक बुढाथोकीले ३० औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सिमराका सेरब लो तामाङ भए ।
प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।