हेटौँडाः सत्य साई केन्द्र हेटौँडाको आयोजनामा बुधबार बिहान रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–१०, बुद्धचोकमा भएको कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । साई बाबाको ९८ औं जन्मोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । रक्तसञ्चार केन्द्रमा अहिले रगतको उपलब्धता पर्याप्त रहेको प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ । मंगलबार पनि सशस्त्र प्रहरी बल मद्धति तथा सेवा गुल्म मकवानपुरको आयोजनामा हेटौँडा–८, कमानेमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए । आगामी शनिबार बिहान रोट्र्याक्ट क्लब अफ मकवानपुरले पनि हेटौँडा–१०, बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
विभिन्न संघ, संस्थाले आयोजना गर्ने कार्यक्रम नै रगत संकलनको प्रमुख माध्यम हो । रगतको मागअनुसार रक्तसञ्चार केन्द्र हेटौँडाले टेलिफोन गरेर बोलाउँदा आउने (अनकल) रक्तदातालाई बोलाएर पनि रगत संकलन गर्ने गरेको छ भने कतिपय रक्तदाताले नियमितरुपमा रक्तसञ्चार केन्द्रमा पुगेर आवश्यकताअनुसार रगत दान गर्ने गरेका छन् । हेटौँडाकै स्वास्थ्य संस्थामा शल्यक्रिया सेवाको विस्तार भएसँगै हेटौँडामा रगतको खपत बढेको छ । रक्तसञ्चार केन्द्र हेटौँडाले संकलन गरेको रगत छिमेकी जिल्ला चितवन र काठमाडौं, ललितपुर, भक्तपुरमा समेत पठाउने गरिएको छ ।











