Home अर्थ/व्यापार ५८ सवारी साधनबाट भाडा फिर्ता, चाडपर्वको अवधिमा प्रदेशका १० जिल्लामा २३ जनाको...

५८ सवारी साधनबाट भाडा फिर्ता, चाडपर्वको अवधिमा प्रदेशका १० जिल्लामा २३ जनाको मृत्यु

हेटौंडाः बागमती प्रदेशमा चाडपर्वको समयमा बढि भाडा लिने ५८ सवारी साधनबाट यात्रुहरुको भाडा फिर्ता भएको छ । चाडपर्वको समयमा बढि भाडा लिने ५८ सवारी साधनबाट ४ सय ४० जना यात्रीको भाडा प्रहरीले १ लाख १३ हजार ६ सय ७० रुपैयाँ रकम फिर्ता गराएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका ३ जिल्लाबाहेक प्रदेशका १० जिल्लाको शान्ति, सुरक्षाको जिम्मेवारी पाएको छ ।

नेपालीहरूको प्रमुख पर्व दसैं, तिहार, छठ पर्वको अवसरमा सर्वसाधारण नागरिकमा सुरक्षाको अनुभूति गराई आर्थिक, सामाजिक एवम् संगठित अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएको थियो । प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना अनुसार बागमती प्रदेश मातहत जिल्लाहरूमा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रदान गरेको थियो । चाडपर्वमा मकवानपुर, नुवाकोट, काभ्रे र सिन्धुलीमा खटिएको प्रहरीको चेकिङ टोलीले भन्सार छलिआएका अवैध रूपमा ओसार पसार गरेको समानहरुमा १२ हजार ९ सय ६५ किलो चिनी, ९ लाख ४६ हजार ४ सय २० रुपैयाँ बराबरको कपडा (कुर्ता, सुरुवाल, साडी) बरामद गरी आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, प्रहरीले प्रदेशको मुख्य ३ वटा चेकपोष्ट मकवानपुर, चितवन र सिन्धुलीबाट ४५२ प्याकेट, ४४ पोका र ५ बोरा पटाका, आतिसबाजी जस्ता पदार्थ बरामद गरेको छ । प्रहरीले प्रदेशभरमा ३०९ वटा अपराधको कसूर दर्ता भएकोमा १ सय ९९ जना मानिस पक्राउ समेत गरेको छ । प्रहरीले चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, सिन्धुलीबाट जुवा कसूरमा १०८ जनालाई पक्राउ गरेको छ भने जुवाको खालबाट १ करोड ६८ लाख ९५ हजार २९१ रुपैयाँ रकम बरामद गरी कानून बमोजिम अनुसन्धान कारवाही गरिरहेको जनाएको छ । चाडपर्वको समयमा १ सय ५६ वटा सवारी दुर्घटनामा परेकोमा २३ जना मानिसको मृत्यु भएको छ भने ३ सय ५१ जना मानिस घाइते भएका छन् । प्रहरीले चाडपर्वको समयमा कानुन उल्लंघन गर्ने जस्ता विभिन्न कसुरमा ५९ हजार ७३२ वटा सवारी साधनलाई कारबाही गरी ४ करोड ८८ लाख ५९ हजार ५ सय रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

Exit mobile version