Home कला नियमित गजल श्रृङ्खला सम्पन्न

नियमित गजल श्रृङ्खला सम्पन्न

गजल कार्यक्रममा गजल बाचन गर्नुहुँदै गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण

हेटौँडाः गजल मञ्च मकवानपुरको आयोजनामा २०८ औँ नियमित गजल श्रृङ्खला शनिबार भएको छ । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी मकवानपुरको सभाहलमा गजल मञ्च मकवानपुर अध्यक्ष केशव समर्पणको सभाध्यक्षमा तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा गजल श्रृङ्खला भएको हो ।

गजल श्रृङ्खलालाई सम्बोधन गर्नुहुँदै संयोजक निमेष निखिलले गजल मञ्चले २० वर्षदेखि गजलको विकास गर्ने काम गरिरहेको बताउनुभएको छ । उहाँले मोतीराम भट्टले गजलको श्रृंगारिक रुपमा स्थापना गरेको बताउनुहुँदै पछिल्लो समयमा मानिसहरुले गजल लेख्ने प्रयास नगरेकोले लेख्न शैलीको विकासमा कमी आएको बताउनुभयो । अध्यक्ष केशव समर्पणले गजल मञ्चले नयाँ गजलकारको स्थापना गर्ने उद्देश्यले विद्यालयमा पनि गजलको कार्यक्रमहरु गर्ने गरेको बताउनुभयो । विधा, भाव, आकर्षण र प्राविधिक लगायतको कुराहरुलाई गजलमा समावेश गर्नुपर्ने उहाँले बताउनुभयो । गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबारको दिन गजल श्रृङ्खला आयोजना गर्ने गरेको छ ।

कार्यक्रममा दीपक गौतम, सुवास सजल, पुरुषोत्तम आचार्य, सानु खनाल, सुनिल गौतम, निमेष निखिल, हरि पौड्याल र केशव समर्पणले गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा गजल मकवानपुरको पूर्व अध्यक्ष देवराज तिवारी, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने , सहसचिव सम्प्रस पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Exit mobile version