Home खेलकुद टि–१० कमाने प्रिमियर लिग, सेमिफाइनल समीकरण पूरा

टि–१० कमाने प्रिमियर लिग, सेमिफाइनल समीकरण पूरा

हेटौँडाः हेटौँडा–८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको टि–१० कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार लिग चरणको ६ वटा खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । शनिबार लिग चरणको खेलहरु सम्पन्न भएसँगै समूह ए बाट विजेता बन्दै कमाने राइडर्स र उपविजेता बन्दै कमाने टाइगर सेमीफाइनलमा प्रवेश गरेको छ भने समूह बी बाट विजेता बन्दै साविक विजेता कमाने हन्टर्स र उपविजेता बन्दै कमाने लायन्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

भोलि आइतबार बिहान सेमीफाइनल खेल र दिउँसो फाइनल खेल हुने कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिनुभएको छ । पहिलो सेमीफाइन खेल कमाने राइडर्स र कमाने लायन्स बीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल कमाने हन्टर्स र कमाने टाइगर बीच हुनेछ । आइतबारै सेमीफाइनल र फाइनल खेलको बीचमा वडा खेलकुद विकास समितिका पदाधिकारी र कमाने प्रिमियर लिगमा सहभागी क्लबका मालिकहरुको टिमबीच मैत्रीपूर्ण खेल हुनेछ ।

हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माविको खेल मैदानमा शुक्रबार कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीको सभाध्यक्षतमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । वडा अध्यक्ष रामकृष्ण थापाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बागमती प्रदेश क्रिकेट संघका सदस्य सन्जोग पोखरेल, वडा खेलकुद विकास समितिका अध्यक्ष उमेश थापा मगर र चन्द्रोदय माविका संचालक समितिका अध्यक्ष ईवाकर मैनाली लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको लागि प्रथम पुरस्कारहाल कोरियामा रहनुभएका सुरज थापा मगरले र द्वितीय पुरस्कारको व्यवस्था हङकङ बस्ने कृष्णप्रसाद पौडेलले प्रायोजन गर्नुभएको कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिनुभएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Exit mobile version