मकवानपुरको मनहरी गाउँपालिकामा घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्य विन्दवासिनी कंशाकारसहित रास्वपाका नेता, कार्यकर्ताहरु ।

हेटौैंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबारबाट घरदैलो कार्यक्रम सुरु गरेको छ । निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा शनिबारदेखि पार्टीले तीन दिने घरदैलो कार्यक्रम सुरु गरेको प्रतिनिधि सभा सदस्य विन्ध्यावासिनी कंशाकारले जानकारी दिनुभयो ।

रास्वपाले अहिले समानुपातिक तर्फका सांसदहरुलाई आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम गर्न खटाइएको छ । समानुपातिकबाट सांसद बन्नुभएका मकवानपुरका कंशाकार, रास्वपा मकवानपुरका सभापति भरत पुराजुली लगायतका पार्टीका कार्यकर्ताहरु शनिबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र मनहरी गाउँपालिकामा घरदैलो अभियानमा खटिनुभएको छ । घरदैलो कार्यक्रमका क्रममा जनताका सुझाव र गुनासो सुन्ने सांसद कंशाकारले बताउनुभयो ।

अहिले प्रत्येक जनताको घरघरमा पुगेर सुझाव फारम भर्न लगाएको र केही दिनमा फारम संकलन गरेर पार्टी केन्द्रीय कार्यालयमा बुझाउने उहाँले बताउनुभयो । सुझाव फारमका सबै कुरा हेरेर जनताले चाहेको, मन लागेको कुरा र सल्लाह सुझावलाई लिएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निर्णय लिने कंशाकारले बताउनुभयो । मकवानपुरमा अहिले वडा, पालिका कमिटीका कार्यकर्ताहरु घरदैलो कार्यक्रम अन्तर्गत खटिरहेको उहाँले बताउनुभयो । उहाँले सबै स्थानीय तहहरुमा पार्टी कमिटीलाई चाँडै पूर्णता दिने बताउनुभयो । मकवानपुरमा अहिले १० स्थानीय तहमध्ये कैलाश गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा मात्र रास्वपाको कमिटी गठन हुन बाँकी छ ।