कमाने हन्टर्स क्रिकेट क्लबका खेलाडीहरु ।

हेटौँडाः हेटौंडा–८ कमानेमा कमाने क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको कमाने प्रिमिएर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । आज शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कमाने हन्टर्स क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।

हन्टर्सले कमाने अर्नाजलाई २७ रनले हराएको हो । कमाने अर्नाजले टस जितेर हन्टर्सलाई व्याटिङको निम्तो दिएको थियो । हन्टर्सले १० ओभरमा ७ विकेटको क्षतिमा ६५ रन बनाएको थियो । कमाने अर्नाजले १० ओभरमा ५ विकेट गुमाएर ३९ रन मात्र जोड्न सफल भयो । अर्नाजको तर्फबाट सबैभन्दा बढी सागर मगरले ८ रन जोडन सफल भएका थिए । खेलको म्यान अफ द म्याच हन्टर्सको तर्फबाट सचिन राउत घोषित भए ।

आइतबारसम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । कमाने क्रिकेट क्लबको अध्यक्ष किशोर खत्रीको सभाध्यक्षतमा तथा वडा ८ को अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा प्रतियोगिता उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश क्रिकेट संघका सदस्य सन्जोग पोखरेल, वडा खेलकुद विकास समितिका अध्यक्ष उमेश थापा मगर र चन्द्रोदय माविका व्यवस्थापन समितिका अध्यक्ष ईवाकर मैनाली लगायतको उपस्थिती रहेको थियो ।