हेटौंडाः हेटौंडा उपमहानगरपालिका–११, डाङ्डुङ्गेमा रहेको मामाघर नेपाललाई करिब २१ हजार रुपैयाँको सहयोग प्राप्त भएको छ । २ दिनको अवधिमा नगद र खाद्यान्न सामग्री गरी २० हजार ६ सय ६५ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको हो ।
मामाघरलाई मंगलबार पोखरा–१७, बिरौटा निवासी पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रीय सदस्य भेषराज बरालुले दीपावलीको अवसरमा नगद ५ हजार १० रुपैयाँ सहयोग गर्नु भएको छ । सोही दिनमा डाङ्गडुङ्गे टोल विकास संस्थाले भैलोबाट संकलित रकम ५ हजार १ सय ५५ रुपैयाँ सहयोग उपलब्ध गराएको मामाघरले जनाएको छ ।
यस्तै, सोमबार अखिल नेपाल औद्योगिक मजदुर संघ युनिलिभर इकाई हेटौंडाले खाद्यान्न सहयोग गरेको छ । संघले चाडपर्वको अवसरमा १० हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग उपलब्ध गराएको मामाघर नेपालले जनाएको छ । मामाघर नेपालमा हाल १८ जना भान्जाहरु रहेको मामाघरका संरक्षक अर्पण पराजुलीले बताउनुभयो ।
२०६८ सालदेखि हेटौंडा र आसपासका क्षेत्रमा सडक बालबालिकाको आपतकालीन राहत, उद्धार, परामर्श, आवासीय सुबिधा, औपचारिक शिक्षा र सीप प्रदान गर्दै आएको मामाघर नेपाल मकवानपुर स्थानीय दान, चन्दा र उपहारमा सञ्चालित सामाजिक संस्था हो । हालसम्म २ सय ६ जनाको उद्घार गरेको मामाघरले १ सय ७२ जना बालबालिकाको पारिवारिक पुनर्मिलन गराइसकेको छ । मामाघरले उद्घार गरेको बालबालिकाहरु १८ वर्ष पुगेपछि अन्य स्थानमा स्थानान्तरण गरिने गरेको संरक्षक पराजुली बताउनुहुन्छ ।
मामाघरले अहिलेसम्म ६० जनाभन्दा बढी उद्घार गरिएका १८ वर्ष पुगेकाहरुलाई काम खोजी रोजगार प्रदान गरेको संरक्षक पराजुलीले दाबी गर्नुभयो । मामाघरलाई विभिन्न व्यक्ति तथा संस्थाले नगद रकम र खाद्यान्न सहयोग गर्दै आएका छन् ।