हेटौंडाः जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितका लागि मकवानपुरबाट राहत सामग्री पुर्याइएको छ । हेटौँडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ र धर्मकाँटाको तर्फबाट राहत सामग्री बिहिबार रुकुम पश्चिम पुर्याएर फर्किएको छ ।
मंगलबार हेटौँडाबाट हिँडेको टोली बिहिबार रुकुम पश्चिम पुगेको हो । हेटौंडा उपमहानगरपालिकाको संरक्षकत्वमा नारायणी यातायात व्यवसायी संघ र नारायणी यातायात कम्पनी प्रालिको सहभागितामा सञ्चालनमा रहेको धर्म काँटा व्यवस्थापन समितिको तर्फबाट १० लाख रुपैयाँ बराबरको सामग्री लगिएको हो । राहत सामग्रीहरुमा डवल बेडको ब्ल्याङ्केट ५ सय थान, त्रिपाल ७५ थान र २० केजीको प्याकेट रहेको चिउरा ५० बोरा रहेको छ । त्यस्तै, मकवानपुर उद्योग वाणिज्य संघले त्रिपाल ७५ थान, डसना १ सय थान, कुर्था सुरुवाल ७० सेट र कुर्था ३० थान सहयोग पठाएको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघमार्फत पठाइएको एक सय थान डसना र कुर्था सुरुवात कपडा तथा तयारी पोशाक व्यवसायी संघको उपलब्ध गराएको मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य नेत्रप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।