हेटौंडाः समयमा विद्युत् महसुल नतिर्ने मकवानपुरका ५ सय ग्राहकको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ । ६ दिनमा मकवानपुरका ५ सय जना ग्राहकको लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय हेटौंडाले जनाएको हो ।

गत कार्तिक १६ गतेदेखि प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई अभियानकै रूपमा चलाइरहेको छ । सोही क्रममा कार्तिक २२ गतेसम्मको अवधिमा विद्युत् महसुल नतिर्ने करिब ५ सयको लाइन काटिएको प्राधिकरण शाखा कार्यालय हेटौंडाका प्रशासन प्रमुख रामबाबु लोप्चनले बताउनुभयो ।

विद्युत् महसुल नतिर्ने झण्डै एक हजार जना ग्राहकको लाइन काटिने अवस्थामा रहेको उहाँको भनाई छ । विद्युत् प्राधिकरण शाखा हेटौंडाअन्तर्गत् ७५ हजारभन्दा बढी ग्राहकले विद्युत् उपभोग गर्दै आएका छन् । हेटौंडा शाखामा ग्राहस्थ ग्राहक ७२ हजार ११ जना, व्यापारिक ५ सय ४ जना, गैरव्यापारिक ४ सय ८८, औद्योगिक एक हजार ५५, गैरग्राहस्थ्य २७, मनोरञ्जन ३, सडकबत्ती ६२, सिंचाई ७४२, खानेपानी १२२, यातायात १, मन्दिर ९३, अस्थायी बत्ती ४७ र आन्तरिक २२ वटा गरी ७५ हजार १ सय ७७ जना ग्राहक रहेका छन् । प्राधिकरणका अनुसार शिवम सिमेन्टको पौने ३ अर्ब र अन्य ग्राहकको ८ करोड ७० लाख ७८ हजार ५ सय १९ रुपैयाँ बक्यौता रकम रहेको छ ।

शिवम सिमेन्टको २०७८ सालसम्ममा २ अर्ब ३५ करोड बक्यौता रकम रहेको थियो । शिवम सिमेन्टको विद्युत महसुल बक्यौताको विषयमा २०७८ साउनमा जिल्ला अदालतमा मुद्घा परेको थियो । जिल्ला अदालतले शिवमको लाइन काट्न आदेश दिएपनि उच्च अदालतले लाइन नकाट्नु भनि आदेश दिएको र अहिलेसम्म मुद्घा विचाराधीन रहेको लोप्चनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘२ वर्षदेखि शिवमको मुद्घा विचाराधीनमा रहेको छ, बक्यौता रकम नै पौने ३ अर्ब भइसक्यो, अदालतले पनि कि तिर्नु भन्नु पर्छ कि नतिर्नु भनि मुद्घा फछ्र्योट गर्नु पर्ने हो । अन्य ग्राहकको ३ महिना कटेपछि लाइन काट्ने गरेका छौँ ।’ शिवम सिमेन्टले विद्युत् प्राधिकरणलाई अप्ठ्यारोमा पारेको उहाँको भनाइ छ । विद्युत् प्राधिकरणले पनि धेरै ठूला व्यवसायीको लाइन काट्न नसकेको र साना व्यवसायी, घरवालाको मात्र लाइन काटेको आरोप लाग्ने गरेको छ ।

प्रशासन शाखा प्रमुख लोप्चनले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताउनुभयो । विद्युत् महसुल संकलन विनियमावली २०७८ बमोजिम मिटर रिडिङ भएको १६ औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६ औं दिनदेखि ३० औं दिनसम्म ५ प्रतिशतका दरले र ३१ औं दिनदेखि ४० औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।

लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ । तिहारपछि विद्युत् लाइन काट्ने कामलाई अझै तीव्रताका साथ अगाडि बढाइने भएकाले समयमै महसुल तिरी सजग र जिम्मेवार बन्नसमेत लोप्चनले ग्राहकलाई आग्रह गर्नुभएको छ ।