पर्व बिदाका कारण अधिकांश विद्यार्थीहरु अहिले घरमै छन् । नगन्य संख्यामा विद्यालय पूर्णरुपमा सञ्चालनमा रहेका छन् भने केही विद्यालयले मावि तहका कक्षा सञ्चालन गरिरहेका छन् । विद्यालय बिदा भएका कारण विद्यार्थी घर, परिवारमा खेल्ने, रमाउने गरेका छन् । यसै सन्दर्भमा विद्यार्थीका क्रियाकलाप, घरमा रहँदा ध्यान दिनुपर्ने कुरा, अभिभावकको भूमिकाका विषयमा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी शिक्षक सन्ध्या बस्नेतसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा चौलागाईले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः अहिले विद्यालयको शैक्षिक अवस्था कस्तो छ ? विद्यालयमा के कस्ता क्रियाकलापहरु भैरहेको छ ?
बस्नेतः अहिले साना कक्षाका बालबालिकाहरुको पढाई भएको छैन । तर कक्षा ८, ९ र १० को भने नियमित कक्षा सञ्चालन भैरहेको छ । लामो बिदाले पढाईबाट विद्यार्थीहरु टाढा नहुन् भनी विद्यालयमा पढाई भएको हो । यस्तै विद्यालयमा कार्तिक २७ गते कार्यक्रम हुँदैछ । त्यसैको तयारी का लागि केहि विद्यार्थीहरु अभ्यासका लागि भनी आएका छन् ।
समाजः सानो कक्षाका बालबालिकाहरु घरमा के गरिरहेका छन् यो समयमा ?
बस्नेतः बिदा सुरु हुन भन्दा अगाडि नै हामी शिक्षकहरुले गृहकार्य दिएका छौं । अनि अभिभावकहरुलाई पनि साना नानीबाबुहरुलाई सामाजिक कार्यमा संलग्न गराउन र व्यवहारिक ज्ञान सिकाई दिन अनुरोध गरेका छौं । कसरी घरका साना–साना काममा परिवारलाई सहयोग गर्ने र आदर कसरी गर्ने जस्ता व्यवहारहरु सिकाउन समेत अनुरोध गरेका छौं । यसबाट केहि हदसम्म बिदा उपयोगी हुने अपेक्षा गरेका छौं ।
समाजः अभिभावक भएर शिक्षक पनि हुनुहुन्छ । तपाई शिक्षक र अभिभावक दुबै हुनुभएको कारण के फाईदा भएको छ ?
बस्नेतः शिक्षक र अभिभावक दुबै हुँदा धेरै फरक भएको छैन । म विद्यालयमा मेरो छोराछोरी दुबैका लागि शिक्षक हुँ । मलाई फरक छु जस्तो लाग्दैन । सबै विद्यार्थीहरु आफ्नै बालबालिका हुन् जस्तो लाग्छ र विद्यार्थीहरु पनि सहकार्य गर्ने गर्छन् ।
समाजः विद्यालयमा अभिभावकहरुको कस्ता गुनासाहरु आउँछन् ?
बस्नेतः गुनासा सामान्य किसिमका हुन्छन् । बालबालिकाहरु भनेको काम मान्दैनन् । विद्यालयको शिक्षकका कुरा मात्र मान्ने गरेका छन् भन्ने जस्ता हुन्छन् । यसमा अभिभावकको कमजोरी हुन्छ । अभिभावक आफुले समय दिने र राम्रो हेरचाह गरेमा यो समस्याको पनि समाधान हुन्छ ।
समाजः बिदामा धेरै विद्यालयबाट भ्रमण जानु भएको छ । तपाईको विद्यालयमा भ्रमणका लागि कस्तो तयारी छ ?
बस्नेतः तिहार सकिएपछि ३ दिनका लागि कक्षा १० लाई शैक्षिक अवलोकन भ्रमणमा लगिँदै छ । अरु कक्षाको भने तालिका बनाई छोटो दुरीमा रमणीय यात्रा गराउने तयारी छ ।
।