हेटौंडाः मकवानपुर सहकारी अस्पतालले असोज महिनामा २ हजार ८ सय ७९ जनालाई सेवा प्रदान गरेको छ । असोज महिनामा मकवानपुर सहकारी अस्पतालबाट २ हजार ८ सय ७९ जनाले सेवा लिएका मकवानपुर सहकारी अस्पतालका नर्स इन्चार्ज राज कुमारी घिमिरेले जानकारी दिनुभयो ।

सहकारी अस्पतालको फिजिसिन विभागबाट १ हजार २१ जना, नाक, कान, घाँटीसम्बन्धी ७१ जना, स्त्री तथा प्रसुती स्वास्थ्यतर्फ १ सय १९ जना, सर्जरीतर्फ १ सय ९६ जनाले सेवा लिएका छन् । यस्तै मानसिक स्वास्थ्यतर्फ १८ जना, कार्डियो विभागमा ५८ जना, बाल स्वास्थ्यसम्बन्धी १ हजार ५ जना, हाडजोर्नीसम्बन्धी २ सय ७४ जना र छाला स्वास्थ्यतर्फ ७१ जनाले सेवा लिएका छन् । मकवानपुर सहकारी अस्पतालका सामान्य फिजिसियन डा. विजय कुमारका अनुसार अस्पतालमा धेरै वयस्क आउने गरेका छन् । डा. कुमारका अनुसार अस्पतालमा अहिले चाडपर्वका कारण बिरामीको चाप कम भएको छ ।

मकवानपुर सहकारी अस्पतालको सामान्य फिजिसियन विभागमा अहिले ज्वरो, प्रेसर, मुटुका बिरामी धेरै आउने गरेका छन् । डा. कुमारका अनुसार अहिले सहकारी अस्पतालमा धेरै सेवा तथा सुधार आएको छ । मकवानपुर सहकारी अस्पतालले गम्भीर बिरामीलाई राख्न नसक्ने डा. कुमारले बताउनुभयो । अस्पतालमा जटिल शल्यक्रिया, हृदयघात जस्ता बिरामी आएमा डाक्टरले भरतपुर र काठमाडौं रेफर गर्ने गरेको छ । साथै, जिल्लामा बारा, रौतहट, सर्लाहीबाट समेत सेवाग्राही आउने गरेको डा. कुमारले जानकारी दिनुभएको छ ।