हेटौंडाः ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय “भिटामिन ए” कार्यक्रम आज शुक्रबार र भोलि शनिबार सञ्चालन हुने भएको छ । हरेक वर्ष वैशाख र कात्तिक महिनामा दुई पटक भिटामिन ए खुवाउने गरेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारीका अनुसार मकवानपुरमा ४ सय ७१ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुले १ सय १० स्वास्थ्य संस्थाको नेतृत्वमा भिटामिन ए र जुकाको औषधी खुवाउनेछ ।
यस वर्ष पनि मकवानपुरको हरेक पालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ । साथै १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने सूचना अधिकारी घिमिरेले बताउनुभयो । मकवानपुरमा भिटामिन ए खाने ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरु ३५ हजार ५ सयको हाराहारीमा छ भने जुकाको औषधी खाने १ वर्षदेखि ५ वर्ष उमेरका बालबालिकाहरुको संख्या ३० हजार ८ सय ६२ रहेको घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार हेटौंडा उपमहानगरपालिकामा ९२ स्वयम्सेविका रहेका छन् । यस्तै, मनहरी गाउँपालिकामा २१, राक्सिराङ्ग गाउँपालिकामा ३८, कैलाश गाउँपालिकामा ४२, भीम्फेदी गाउँपालिकामा ५०, मनहरी गाउँपालिकामा २१, बागमती गाउँपालिकामा ३२, बकैया गाउँपालिकामा ६५, मकवानपुरगढी गाउँपालिकामा ४०, थाहा नगरपालिकामा ५४ र इन्द्रसरोेवर गाउँपालिकामा ३७ स्वयम्सेविका रहेका छन् ।
नेपाल सरकारले भिटामिन ए खुवाउने निर्धारित समय कात्तिक २ र ३ गते रहेको थियो । यस वर्ष दसैंका कारण भिटामिन ए कार्यक्रम कात्तिक १७ र १८ गते सारेको हो । मकवानपुरमा हरेक पालिकाले कार्यक्रमको तयारी भइसकेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका मार्फत खुवाइने खोप हरेक पालिकामा पठाइसकेको अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
