हेटौँडा : श्रीचन्द्र शर्मा स्मृति सम्मान मकवानपुरकी फिफा रेफ्री तथा प्रशिक्षक कल्पना शर्मालाई प्रदान गरिएको छ । मदन भण्डारी फाउन्डेसन मकवानपुरले शनिबार वार्षिक भेलाको आयोजना गर्दै १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित श्रीचन्द्र शर्मा स्मृति सम्मान शर्मालाई प्रदान गरेको हो ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले शर्मालाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । फिफ रेफ्री शर्माले सन् १९९९ देखि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा समेत निर्णायक भूमिका जनाउँदै आउनुभएको छ । हेटौँंडा–२ मा जन्मनुभएकी शर्माले २०४० को दशकदेखि नै फुटबल खेलाडीको पहिचान बनाउन सफल हुनुभयो । उहाँले प्रथम राष्ट्रिय महिला फुटबल च्याम्पियनसीपदेखि आठौं राष्ट्रिय खेलकुदसम्म फुटबल खेल्नुभयो । करिब १६ वर्षको फुटबलको सक्रिय खेलाडी अनुभवी भइसकेपछि उहाँले सन् १९९४ मा एन्फाबाट आधारभूत रेफ्री तालिम सुरु गर्नुभएको थियो । सन् १९९९ मा मलेसिया र फिलिपिन्समा आयोजना भएका एएफसी तथा फिफाका विशिष्ट कोर्सहरु उत्तीर्ण गरी आफुलाई अन्तर्राष्ट्रिय रुपमा निर्णायकका रुपमा स्थापित गर्नुभयो ।
शर्माले फिलिपिन्समा भएको १२औँ एशियन महिला च्याम्पियनसिप (१९९९), चीनमा भएको यू–१९ एशियन महिला च्याम्पियनसिप (२००४), जोर्डनमा भएको यू–१९ एशियन छनोट (२००६) र सन् २०१० मा बंगलादेशमा सम्पन्न दक्षिण एशियाली खेलकुद (साफ खेलकुद) मा निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ । उहाँ रुपक शर्मा मेमोरियल अवार्ड, आइ बल अफ हेटौँडा, मकवानपुर युवा प्रतिभा पुरस्कारब सम्मानित भइसक्नुभएको छ । फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, एमाले लेखा समिति सदस्य नवीन सिग्देल, जिल्ला विकास समिति मकवानपुरका पूर्व उपसभापति बद्रीप्रसाद लम्साल लगायतको उपस्थिति थियो ।
