हेटौँडा : वाइवाइ यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता २०८३ को जिल्लास्तरीय छनोटका लागि ६५ जनाले आवेदन दिएका छन् । मकवानपुर क्रिकेट संघले जिल्लास्तरीय छनोट प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूका लागि बैशाख ७ गतेदेखि दर्ता फारम खुला गरेको थियो । जिल्लाका ६५ जनाले खेलाडीले छनोटका लागि दर्ता फारम भरेका संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभयो ।
जिल्लास्तरीय छनोट प्रतियोगिता जेठ २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने सचिव बानियाँले बताउनुभयो । वाइवाइको मुख्य प्रायोजन र एक्सपर्ट भिजन कन्सल्टेन्सीको सहयोगमा जिल्लास्तरीय छनोट प्रतियोगिता हुनेछ । दर्ता फारम भरेका खेलाडीलाई ४ वटा टिममा विभाजन गरिनेछ । छनोट प्रक्रिया अन्तर्गत प्रत्येक टिमले एकअर्कासँग एकदिवसीय अभ्यास खेल खेल्ने छ । अभ्यास खेलको प्रदर्शनका आधारमा सुरुमा २२ जना खेलाडीलाई छनोट गरिनेछ । त्यसपछि उत्कृष्ट १४ जना खेलाडीलाई बागमती प्रदेशस्तरीय छनोटमा पठाइनेछ भने ४ जना वैकल्पिक खेलाडीको रुपमा रहनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, काठमाडौं र भक्तपुरबीच प्रदेशस्तरीय छनोट प्रतियोगिता हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रदेशस्तरीय छनोट प्रतियोगिता आगामी जुन महिनामा भने राष्ट्रिय प्रतियोगिता आगामी सेप्टेम्बर र अक्टोबर महिनामा सञ्चालन गरिने कार्यतालिका रहेको छ ।
