हेटौँडा : दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मकवानपुरका सुवास सजल द्वितीय भएका छन् । शनिबार भएको प्रतियोगितामा सजलको ‘चिडियाखाना’ शिर्षकको कविता द्वितीय भएको हो । प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका सजलले ४१ हजार ५ सय ५५ रुपेयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
सुनसरीको इटहरी–२०, तरहरास्थित जनसहयोग माध्यमिक विद्यालयका २०५० सालको एसएलसी समूहले प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा मोरङका विशाल शाहको ‘मौनता’ र इलामका ऋजन मायालुको ‘बारुद’ शिर्षकको कविताले क्रमशः प्रथम र तृतीय स्थान हासिल गर्यो । प्रथम हुनेले ५१ हजार ५ सय ५५ रुपैयाँ र तृतीय हुनेले ३१ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका लागि देशभरबाट प्राप्त ५४७ वटा कवितामध्ये उत्कृष्ट १० वटालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो । उत्कृष्ट १० मा पर्न सफल भएका कविहरुले अन्तिम प्रतिस्पर्धामा शनिबार आ–आफ्ना कविता वाचन गरेका थिए । प्रथम, द्वितीय र तृतीयबाहेक उत्कृष्ट १० मा परेका अन्य सात जना कविहरुले सिर्जनशील पुरस्कार स्वरुप जनही ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।
सिर्जनशील पुरस्कार पाउनेहरुमा अनिल सुवेदी (धनकुटा), कल्पना मरासिनी (अर्घाखाँची), टीकाराम कार्की (मोरङ), प्रचुर अभाव (झापा), प्रज्ञा निरौला (सोलुखुम्बु), विश्वराम खत्री (भक्तपुर) र सवि मेवाहाङ (सुनसरी रहेका हुन् । नारायणप्रसाद पौडेलको स्मृतिमा साथीहरुले गत वर्षदेखि प्रतियोगिता आयोजना गरेको हो ।