
हेटौंडाः मकवानपुरको पूर्विक्षेत्रस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र सबै वडा कार्यालय भवनको निर्माण कार्य पूरा गर्ने भएको छ । नागरिकलाई सेवा प्रदान गर्ने सबैभन्दा तल्लो तहको निकाय नै व्यवस्थित गर्नु प्राथमिक विषय भएको उल्लेख गर्दै गाउँपालिकाले वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेर निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो । साविकका गाउँ विकास समितिका भवनमा ४ र ९ नम्बर वडा कार्यालय सञ्चालनमा रहेका छन् भने अधिकांश भाडाको घरमा वडा कार्यालय सञ्चालनमा रहेको छ ।
बकैया गाउँपालिकाका १२ वटा वडा मध्ये ४ र ९ नम्बर वडा साविकका गाविस भवनमा सञ्चालित छन् । ४ नम्बर वडा कार्यालयको भवन राम्रै छ भने ९ नम्बर वडाको पनि नयाँ भवन निर्माण कार्य सुरु भइसकेको छ । गत आर्थिक वर्ष २०७५/७६ मा वडा नम्बर १ र ६ को भवन निर्माण सुरु गरेको गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ मा बाँकी ९ वटै वडाको भवन निर्माण कार्य भइरहेको अध्यक्ष खनालले जानकारी दिनुभयो । नयाँ भवन बनेर ११ नम्बर वडा कार्यालय नयाँ भवनमा सरिसकेको छ भने वडा नम्बर ६ र ८ को भवन निर्माण सकिएर कार्यालय सर्न मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । वडा नम्बर १ पनि झ्याल ढोका हाल्न र रंगरोगनको काम मात्रै बाँकी रहेको छ ।
वडा नम्बर ३, ५ र १० को भवनको ढलान भइसकेको जानकारी दिनुहुँदै केही दिन अघि मात्रै ७ नम्बर वडा कार्यालयको सिलान्यास गरिएको गाउँपालिका अध्यक्ष खनालले बताउनुभयो । गाउँपालिकाले एउटा वडा कार्यालयका लागि ३६ लाखको हाराहारीमा बजेट बनाएर भवन निर्माण गरिरहेको छ । भौगोलिक अवस्था हेरेर ढुवानी लागत धेरथोर हुन सक्ने उल्लेख गर्नुहुँदै गाउँपालिका अध्यक्ष खनालले भन्नुभयो, ‘वडा कार्यालयको भवन ३ कोठे हुने गरी बनाइएको छ । भविष्यमा ५ तल्लासम्म बनाउन मिल्ने गरी भवनको जग तयार पारी पहिलो तल्ला वडाको कार्यालय प्रयोजन तथा माथिल्लो तल्ला भने ट्रस हालेर सभाकक्षको रुपमा प्रयोग गर्ने योजना बनाएका छौं ।’ आगामी आर्थिक वर्षभित्र पालिकाका सबै वडा कार्यालय व्यवस्थित बनाएर पालिकावासीलाई सहज रुपमा सेवा, सुविधा प्रदान गरिने अध्यक्ष खनालले बताउनुभयो ।