हेटौँडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडामा वृहत खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ । बिहीबार हेटौँडा–४ मकवानपुर जिल्ला खेलकुद विकास समितिमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको जानकारी गराएको छ ।
महोत्सव आयोजना गर्न हेटौँडा उपमहानगरपालिकाबाट अनुमति प्राप्त भइसकेको र बाँकी शन्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सहयोग प्राप्त हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीले जानकारी दिनुभएको छ । खेलकुद क्षेत्रमा जिल्ला खेलकुदको भूमिका समन्वयकारी मात्र रहने र बजेटको अभावमा, ससाना खर्चहरुको अभावमा प्रतियोगिता आयोजना गर्दा हुने आर्थिक अभाव लगायतका खेल क्षेत्रमा हुने विभिन्न आर्थिक समस्यालाई हल गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष खड्कीले बताउनुभयो ।
महोत्सवमा खेलकुद प्रतियोगिता हुने र जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलाडीहरुले आफ्नो खेलकौशल प्रस्तुत गर्ने अवसर रहने बताइएको छ । महोत्सवबाट हुने आम्दानीलाई सहयोगी संस्थासँगको सम्झौता अनुसार समितिमा राखेर खेलकुदको क्षेत्रमा प्रयोग गरिने बताइएको छ । महोत्सवमा उसु, भलिबल, कबड्डी, कराँते, फुलकन्ट्क्याक्ट कराँते, एथ्लेटिक्स, आर्चरी, रेस्लिङ, कुस्ती, व्याडमिन्टन, आइटीएफ, तेक्वान्दो, हक्की, ७ ए साइड फुटबल हुने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यङ्ग्य, नृत्य, गायन जादुको प्रस्तुती हुने, कृषि, पर्यटन, हस्तकला, अटोमोबाइल, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, खाना अन्य विभिन्न स्टलहरु हुने जनाइएको छ । महोत्सव हेटौँडा–१० स्थित टिसिएनको मैदानमा हुनेछ ।










