फाइल तस्वीर ।

हेटौंडाः कमाने क्रिकेट क्लबको आयोजनामा कमाने प्रिमियर लिगको दोस्रो संस्करण आउँदो मंसिर १ गतेदेखि हुने भएको छ । मसिंर ३ गतेसम्म हुने प्रतियोगिता टी–१० को ढाँचामा हुनेछ । प्रतियोगितामा सहभागी हुने टिममा हेटौँडा उपमहानगरपालिका ८ नम्बर वडाका १२ वर्ष वा सो भन्दा बढी उमेरका खेलाडी हुनुपर्नेछ ।

लिग विजेताले १५ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिनुभएको छ । गत वर्ष आयोजित पहिलो संस्करण भएकोले इच्छुक सबैलाई समावेश गर्ने क्रममा ८ वटा टिम तयार भएको उल्लेख गर्नुहुँदै अध्यक्ष खत्रीले भन्नुभयो, “दोस्रो संस्करणमा आइपुग्दा लिगलाई हामी व्यवस्थित बनाउने योजनामा छौं । यस वर्ष हामी कम्तिमा क्रिकेटको बलिङ, व्याटिङमा अभ्यस्त खेलाडीलाई मात्रै समावेश गर्नेछौं ।”

यस वर्ष ६ वटा टिमको सहभागिता रहने अनुमान गरिएको अध्यक्ष खत्रीले बताउनुभएको छ । वडा कार्यालयसँगको समन्वयमा चन्द्रोदय माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगिता आयोजना गर्न करिब २ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको कमाने क्रिकेट क्लबका सचिव प्रशान्त राज गिरीले जानकारी दिनुभएको छ । पहिलो संस्करणको उपाधि कमाने हन्टर्सले जितेको थियो ।