हेटौँडाः हेटौँडा–१७, हटियामा निर्माणाधिन कभर्ड हलमा भोलि शुक्रबार र पर्सी शनिबार दुईदिन प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । क्रियटिभ तेक्वान्दो एकेडेमीको आयोजना तथा राष्ट्रिय तेक्वान्दो संघ मकवानपुर, बागमती प्रदेश खेलकुद विकास परिषद्, खेलकुद विकास समिति हेटौँडा–१७, हेटौँडा उपमहानगरपालिका वडा–१६, १७ र १८ को सहकार्यमा प्रतियोगितामा हुन लागेको हो ।
राष्ट्रियस्तरको खेलाडीहरु उत्पादन गर्न, खेलाडीको कला प्रदर्शन गर्न र तेक्वान्दो खेलको विकास गर्न पुम्से तथा फाइट (केरोगी) का ३८ वटा विधामा प्रतिस्पर्धा गराइने आयोजक समितिका संयोजक भोजराज पराजुलीले जानकारी दिनुभएको छ । देशभरबाट ४ सय जना खेलाडीहरुको सहभागिता हुन सक्ने संयोजक पराजुलीले बताउनुभयो । प्रतियोगितामा ३८ वटा स्वर्ण, ३८ वटा रजत र ७६ वटा कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिलातर्फ २०–६८ केजी र पुरुष तर्फ २०–७८ केजी तौलसम्मका खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा २०–२३, २३–२६, २६–२९, २९–३२, ३२–३५, ३५–३८, ३८–४१, ४१–४५, ४५–४९, ४९–५३, ५३–५७, ५७–६२, ६२–६७, ६७–७२ र ७२–७८ तौल समुहका खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने वेष्ट फाइटर, टिम फस्ट र अनुशासित टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक पराजुलीले बताउनुभएको छ ।