आत्महत्या विश्वव्यापी समस्या हो । आफ्ना समस्याहरुसँग जुध्न नसक्दा अन्ततः व्यक्तिले स्वेच्छिक मरण स्वीकार्ने गरेका छन् । आत्महत्या एउटा समस्या हो भने आत्महत्याको घटनापछि मृतकको परिवार र समाजमा पार्ने नकारात्मक प्रभावले विविध समस्या निम्त्याउने गर्दछ । पछिल्लो समय नेपालमा आत्महत्याको घटना भयावह बन्दै गएको छ । मकवानपुर जिल्लाको अवस्था पनि उस्तै छ । पछिल्लो एक साताको अवधिमा मात्रै ६ जनाले आत्महत्या गरेका छन् । हरेक दिन आत्महत्याको प्रयास भइरहेको छ । तर, कुनै दिन पनि आत्महत्या रोक्न सरकार, समाज र व्यक्तिको ध्यान पुग्न सकेको छैन ।
चालु आर्थिक वर्षमा मात्रै ४३ जनाले आत्महत्या गरेका छन् । पारिवारिक कलह, आर्थिक समस्या, प्रेम सम्बन्धमा असहजतालगायत विविध बहानामा आत्महत्याको प्रयास भएको देखिन्छ । आत्महत्या गर्नेमा २८ जना पुरुष, १२ महिला, २ बालक र एक बालिका रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मकवानपुर जिल्लामा १ सय ५५ जनाले आत्महत्या गरेका थिए । आत्महत्याको घटनालाई गम्भीरताका साथ हरेक व्यक्तिले हेर्नुपर्छ । तीन तहका सरकारले आपसमा मिलेर समस्या समाधानमा काम गर्नु अनिवार्य छ ।
आत्महत्याको कल्पना नै गर्न नपर्ने गरी मूलतः परिवारका सदस्यमा आपसी सौहाद्र्धता, सद्भावपूर्ण वातावरण बनाउन आवश्यक छ । समस्या र चुनौतिले नै नयाँ सोँच र मार्ग पहिल्याउन प्रेरित गर्छ । चुनौतिको सामना गर्नु नै मानवीय चेतनाको उपलब्धी समेत हुनेछ । तर, समस्या र चुनौतिलाई सामना गर्न व्यक्तिगत तवरबाट, पारिवारिक एकताबाट, समाजले विश्वास गर्ने अवस्था नरहँदा व्यक्तिले आफ्नो औचित्यमाथि प्रश्न गर्दै आफ्नै अन्त्यको गम्भीर निर्णयमा पुग्ने गर्दछ । यसर्थ परिवारमा आपसी सद्भाव र सौहाद्र्धता अभिवृद्धि गर्ने हो भने मृत्युका बारेमा कसैले पनि सोँच्ने अवस्था नै रहन्न ।
परिवार र समाजमा आनन्दका बहानाहरु खोजी गर्ने, हरेक प्रयासमा सुख र खुसी महसुस गर्ने हो भने निराशा र गलत विचारले हाम्रो साथ छाड्नेछ । यसका लागि सरकारहरु नै जिम्मेवार हुनुपर्छ भने समाज र परिवार, व्यक्तिले पनि सक्दो सकारात्मक प्रयास गर्नुपर्छ । यतिबेला आत्महत्याको घटनालाई व्यवस्थापन गर्न प्रहरी एउटा जिम्मेवार निकायको रुपमा रहँदै आएको छ । समाजले भने प्रहरी नै आत्महत्या रोक्ने प्रमुख निकाय हो भन्ने भ्रम पनि प्रशस्त देखिन्छ । आत्महत्या या हत्या भन्ने कोणबाट मात्रै प्रहरीले हेरिरहेको छ । यद्यपि प्रहरीलाई थाहा छ कि के गरियो भने आत्महत्याका घटनालाई न्यून गर्न सकिन्छ भनेर । यतिबेलाको जटिलतालाई बुझेर प्रहरीको एउटा विशेष इकाई नै निर्माण गरी नागरिकको ज्यान जोगाउन सरकारले महत्वपूर्ण निर्णय गर्न सक्नुपर्छ । एउटा परिवार र व्यक्तिका लागि एउटा आत्महत्याको घटना पूर्णतः अपूरणीय क्षति हो । तसर्थ नागरिकको ज्यान जोगाउन सरकार हदैसम्मको जिम्मेवार भएर उपयुक्त उपाय खोजी गर्न ढिलाई गर्नु हुन्न ।