गुगल तस्विर ।

हेटौँडाः चितवन र धादिङ जिल्लामा दुई वटा शव फेला परेको छ । यस्तै काभ्रेपलान्चोकमा आश्रममा आश्रित एक वृद्धाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनकोे भरतपुर महानगरपालिकाको १ नम्बर वडा कार्यालय भवन पछाडि नारायणी नदिमा एकजना पुरुष व्यक्तिको शव फेला परेको छ । शनिबार दिउँसो २ बजेर २० मिनेटको समयमा सनाखत नभएको अन्दाजी ६५ वर्षीय पुरुष व्यक्तिको शव नारायणी नदिको तिरमा तैरिरहेको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

धादिङ जिल्लाको गल्छी गाउँपालिका–४, चिरौदी स्थित त्रिशुली नदीमा एक जना महिलाको शव फेला परेको छ । शनिबार दिउँसो २ बजेर ४० मिनेटको समयमा सनाखत नभएको अन्दाजी ४० वर्षीया महिलाको शव तुईनको तारमा अड्किएको अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौरस्थित आश्रममा आश्रित वृद्धाको मृत्यु भएको छ । शनिबार साँझ ६ बजेको समयमा मानव कल्याण आश्रममा बस्दै आएकी ६७ वर्षीया राममाया नगरकोटीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । नगरकोटीको सुतिरहेको अवस्थामा ओछ्यानमै मृत्यु भएको हो । मुचुल्का पश्चात महिलाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।