हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले राष्ट्रिय सहमतिमा सरकार बन्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा चाडपर्वलक्षित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
चुनावको समयमा एक अर्कालाई हराउनमा लगेता पनि अब सबै राजनैतिक दल मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । सबै राजनैतिक दल मिलेर २०७२ सालमा संविधान निर्माण गरेकोमा संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । वर्तमान अवस्थामा गरिब जनाताको पक्षमा रहेर राजनैतिक दलहरुले काम गर्नुपर्ने बताउँदै विगतका कार्यहरु परिर्माजन गरेर जानुपर्नेमा उहाले जोड दिनुभयो ।
जनताप्रति सरकार उत्तरदायी हुनुपर्ने भन्दै बानियाँले असत्य बेथितिको अन्त्य गर्दै जानुपर्ने बताउनुभयो । पछिल्ला दिनमा विभिन्न ठाउँमा द्वन्द्व बढ्दै गएकाले त्यस्ता घटना हुन दिन नहुनेमा उहाँले जोड दिनुभएको छ । दलहरुमा आरोप प्रत्यारोप लगाउने परिपाटी बढेकाले त्यसको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
देशमा राजनैतिक दलहरुको एकता हराउँदै गएकाले काँग्रेस, एमाले र मावोवादीमा स्थायित्व हुनुपर्ने सभापति बानीयाँको भनाइ छ । जनताले समृद्घि, रोजगारी चाहेकाले सरकारले त्यस्तो नीति लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
चियापान कार्यक्रममा नेकपा मावोवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्घ लामालगायत पार्टीका नेता कार्यकर्ता, भातृसंगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
