नेपालमा झण्डै तीन दशकदेखि वर्षेनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९९३ मा मे ३ लाई प्रेस स्वतन्त्रता दिवस घोषणा गरे पनि नेपालमा सन् १९९७ देखि यो दिवस मनाउन थालिएको हो । प्रेस स्वतन्त्रता दिवसलाई वर्षेनि नेपाल पत्रकार महासंघको अगुवाइमा देशभर मनाउने गरिएको छ । ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ भन्ने मूल नारासहित यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । दिवस मनाउने क्रममा नेपाल पत्रकार महासंघ मकवानपुरले हेटौँडामा आइतबार अन्तरक्रिया गरेको छ । मुलुकमा रहेका राजनीतिक दल तथा तिनका नेतृत्व प्रतिपक्षमा रहँदा प्रेस स्वतन्त्रताको वकालत गर्ने र सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेपछि निरंकुश बन्ने प्रवृत्तिप्रति सञ्चारकर्मीहरुले चिन्ता जनाएका छन् । अन्तरक्रियामा सहभागीहरुले वर्तमान सरकारले निजी मिडियामा सरकारी विज्ञापन दिन रोक लगाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
तीन दशकदेखि हरेक वर्ष प्रेस स्वतन्त्रता दिवस मनाइँदै आए पनि धेरैजसो सञ्चार माध्यम र सञ्चारकर्मी भने स्वतन्त्र हुन नसकेको अन्तरक्रियामा सहभागी सञ्चारकर्मीले नै स्वीकार गर्नुले मुलुकको प्रेस जगतमा विकृति रहेको स्पष्ट पारेको छ । सञ्चारकर्मी र सञ्चारमाध्यम व्यावसायिक हुन नसक्नु, शक्ति र सत्तामा रहेकाले आफू अनुकूल समाचार खोज्नु, स्वार्थप्रेरित समाचार बनाउने प्रवृत्ति बढ्नु, ‘न्यूज’लाई भन्दा ‘भ्यूज’लाई प्राथमिकता दिनुले प्रेस स्वतन्त्रतामात्र नभई सिङ्गो सञ्चार क्षेत्र विकृत बन्दै गएको छ । अरुको अधिकार र स्वतन्त्रताको लागि बोलिदिने सञ्चारकर्मी आफैँ स्वतन्त्र हुन नसक्नुले प्रेस स्वतन्त्रताको माग र मुद्दालाई खल्लो बनाइरहेको छ । प्रेस स्वतन्त्रता दिवस मनाउँदै गर्दा सञ्चारकर्मी र सञ्चार क्षेत्र पनि स्वतन्त्र हुनु अपरिहार्य देखिन्छ । सञ्चारकर्मी जबसम्म आफू स्वतन्त्र हुँदैन, तबसम्म उसले अरुको स्वतन्त्रता रक्षा गर्न सक्दैन । स्वतन्त्र हुन नसकेको प्रेस जगतले प्रेस स्वतन्त्रताको कुरा गर्न पनि उचित हुँदैन ।
प्रेस स्वतन्त्रताको कुरा गर्ने सञ्चारकर्मी र सञ्चार माध्यमले आफ्नो दायित्व वा जिम्मेवारी बुझ्नु उत्तिकै आवश्यक छ । प्रेस स्वतन्त्रताको माग गर्नु सञ्चार जगतको अधिकार हो भने देश, नागरिकप्रति जिम्मेवार हुनु जिम्मेवारी हो । पत्रकारिता जगतले आम नागरिकको पिर, व्यथा र विषयवस्तुलाई स्वतन्त्र भई उजागर गर्नुपर्नेमा पनि अन्तरक्रियाका सहभागीले जोड दिनुलाई अर्थपूर्ण मान्नुपर्छ । राज्यपक्ष वा शक्तिकेन्द्रको प्रभावबाट प्रेस जगतलाई स्वतन्त्रता प्रदान गर्नु अत्यावश्यक भए पनि सञ्चारकर्मीले आफ्नो कामप्रति निर्वाह गर्ने जिम्मेवारीका कारण पनि प्रेस स्वतन्त्रता प्राप्तिमा महत्वपूर्ण मान्न सकिन्छ । सञ्चार जगत जिम्मेवार नहुँदा नै प्रेस स्वतन्त्रता पनि संकटमा पर्ने गरेको विगतका घटनाले समेत पुष्टि गर्दै आएको छ ।
लोकतान्त्रिक शासन व्यवस्थाको मुटु मानिने प्रेस स्वतन्त्रता कुनै बहानामा हनन हुनु हुँदैन । लोकतन्त्रलाई जीवित राख्ने हो सञ्चार जगतलाई स्वतन्त्र भएर काम गर्ने वातावरण दिनैपर्छ । प्रेस स्वतन्त्रतासम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको कार्यान्वयन र पालनामा राज्यपक्ष र सञ्चार जगत जिम्मेवार र जवाफदेही बन्ने हो भने प्रेस स्वतन्त्रताको रक्षा हुन सक्छ । विभिन्न बहानामा प्रेसमाथि नियन्त्रण कायम गरिँदा नागरिकका मौलिक हकहरुसमेत हनन हुनसक्ने तथ्यलाई नकार्न सकिँदैन । प्रेस स्वतन्त्रता खोज्नेहरुले आफू पनि स्वतन्त्र भएको प्रमाणित गर्न सक्नुपर्छ । आफू स्वतन्त्र हुनुपर्ने जिम्मेवारी भुलेर कुनै दलको पक्षधर बन्दै प्रेस स्वतन्त्रताको कुरा गर्न सञ्चारकर्मीलाई नैतिकताले पक्कै दिँदैन ।
