हेटौँडाः मकवानपुर जिल्लामा बहुउद्देश्यीय सहकारी संस्थाहरुको लगानी दुई अर्ब ७८ करोड रहेको छ । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघले दसौं वार्षिक साधारणसभाको अवसरमा मंगलबार सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा संघमा आवद्ध २० वटा सहकारीले दुई अर्ब ७८ करोड ७३ लाख रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । संघमा आवद्ध २३ वटा बहुउद्देश्यीय सहकारीमध्ये दुईवटा सहकारीले विद्यालय सञ्चालन गरिरहेकोले ती सहकारीले ऋण लगानी गरेका छैनन् ।
संघमा आवद्ध २३ वटा बहुउद्देश्यीय सहकारीको सेयर पुँजी ३९ करोड २१ लाख रुपैयाँ रहेको छ । २२ वटा सहकारीले एक अर्ब ८५ करोड ४९ लाख रुपैयाँ बचत संकलन गरेको छ । मकवानपुर जिल्लामा स्थापित ५० वटा बहुउद्देश्यीय सहकारी संस्थामध्ये ३२ वटा क्रियाशील रहेको र २३ वटा बहुउद्देश्यीय सहकारी संस्था जिल्ला संघमा आवद्ध रहेको अध्यक्ष रामहरि न्यौपानेले जानकारी दिनुभएको छ । बहुउद्देश्यीय सहकारी संस्थामा दुई सय ६० भन्दा बढीले रोजगारी पाएको अध्यक्ष न्यौपानेले बताउनुभएको छ ।
मंगलबार संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाअध्यक्ष नवीन सिग्देल, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला सहकारी संघका पूर्वअध्यक्ष बद्रिप्रसाद लम्सालको पनि आतिथ्य रहेको थियो ।
