हेटौँडा : सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय हेटौँडा–११, डाङ्डुङेस्थित मामाघर नेपाल मकवानपुरलाई सहयोग आउने क्रम जारी छ । पछिल्लो दुई हप्तामा मामाघरलाई कुल ६५ हजार ६ सय १० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।
हेटौँडा–९ निवासी दीपा बुढाथोकीले छोराको जन्मदिनको अवसरमा मामाघरलाई १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । हेटौँडा–९ कै दुर्गाकुमारी अर्यालले ८३ औँ जन्मदिनको अवसरमा १० हजार ५ सय रुपैयाँ, हेटौँडा–११ का स्वर्गीय अर्जुन बानियाँको परिवारले १० हजार र अधिरा श्रेष्ठले पनि १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
हाल जापान रहनुभएका हेटौँडा–५ की आइसा शाहीले जन्मदिनको अवसरमा नगद ६ हजार रुपैयाँ, हेटौँडा–७ निवासी सरस्वती खड्का र विकास केसीले छोरीको जन्मदिनको अवसरमा ५ हजार ५५ रुपैयाँ, हेटौँडा–७ निवासी मोनिका गौतमले जन्मदिनको अवसरमा ५ हजार रुपैयाँ मामाघरलाई सहयोग गर्नुभएको छ । यस्तै, हेटौँडा–१० निवासी अमिसा घिसिङ र मनिषा लामाले संयुक्तरुपमा ४ हजार र हेटौँडा–२ निवासी केशरी उप्रेतीले ४ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।
हेटौँडा–८ निवासी कृष्णा पौडेलको हाल अस्ट्रेलिया बस्ने छोरी श्रद्धा पौडेलको जन्मदिनको अवसरमा भन्जाहरुका लागि एकदिनको खाना र खाजा सहयोग गर्नुभएको छ । हेमा कार्कीले छोरीको जन्मदिनको अवसरमा खाद्यान्न सहयोग र काले शेर्पाको परिवारले बुद्ध जयन्तीको अवसरमा भान्जाहरुका लागि दिवा खाजा सहयोग गर्नुभएको छ । निल डेभिस इन्टरनेसनल सैलुन एण्ड एकेडेमीले भान्जाहरुको कपाल काटी सहयोग गरेको छ ।
यसअघि वैशाख पहिलो सातामा मामाघरलाई १ लाख २३ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो । मामाघर नेपालले २०६८ सालदेखि हेटौँडा र आसपासका क्षेत्रमा सडक बालबालिकाको आपतकालीन राहत, उद्दार, परामर्श, आवासीय सुविधा, औपचारिक शिक्षा र सीप प्रदान गर्दै आएको छ । हालसम्म २ हजार २ सय ७६ जना अनाथ, असहाय र सडक बालबालिकालाई सेवा प्रदान गरिएको संस्थाको तथ्याङ्क छ । संस्थाले बालबालिकालाई आवासीय सुविधासहित औपचारिक शिक्षा र सीपमूलक तालिमसमेत दिँदै उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
