
हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारमा भएको वडास्तरीय स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान (२६ महिना) प्रथम भएका छन् । नामटार स्वास्थ्य चौकी अन्तर्गत भएको ६ महिनादेखि ३६ महिनासम्मका बालबालिकाहरुको विभिन्न सूचकमा रहेर गरिएको प्रतिस्पर्धामा आशिका रुम्बा (३४ महिना) द्वितीय भएकी छिन् भने सन्ध्या बल (३३ महिना) तृतीय भएकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए । प्रतियोगितामा ४६ जना बालबालिकाले प्रतिस्पर्धा गरेका थिए ।
वडाध्यक्ष एवम् स्वास्थ्य चौकीका अध्यक्ष भूवन सिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले स्वस्थ बालबालिका थाहा पाउन प्रतिस्पर्धात्मक कार्यक्रमले थप टेवा पुग्ने बताए । सुनौला हजार दिनभित्र देखिनै आमा र बच्चाको स्वास्थ्य अवस्था नियमित जाँच गरिरहनुपर्ने बताउँदै सरकारले ल्याएको मापदण्ड र विभिन्न सूचकमा रहेर प्रतिस्पर्धा गरिएको उनले बताए ।
बच्चाको स्वास्थ्य सम्बन्धी ज्ञान आमासँग रहने भएकाले बच्चाको स्वास्थ्यबारे थाहा पाइराख्नु र विरामी पश्चातको उपचार समेत आमाहरुले जानकारी भइराख्नुपर्ने अध्यक्ष मुक्तानले बताए । पोषण कार्यक्रमले आमा र बच्चाको स्वास्थ्य अवस्थालाई सन्तुलन गरिनुका साथै गाउँपालिकाले आमा र बच्चालाई विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गरिरहेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले स्वस्थ बच्चा थाहा पाउन स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य जाँच गरिरहनुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, सिनियर अहेव सुधिर महत्तो, नामटार स्वास्थ्य चौकीका प्रमुख पंकज साहको आतिथ्य रहेको थियो ।