Home कला कैलाश गाउँपालिकाको बैकुण्ठमा घाटुनाच मेला सम्पन्न

कैलाश गाउँपालिकाको बैकुण्ठमा घाटुनाच मेला सम्पन्न

घाटु नाच प्रस्तुत गर्दै ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–२, बैकुण्ठमा घाटुनाच मेला सकिएको छ । शुक्रबार र शनिबार दुईदिन भएको मेलामा घाँसे गीत तथा तामाङ फापरे ह्वाई प्रतियोगिता समेत भएको थियो ।

मुख्यतः गुरुङ समूदायले मनाउने घाटुनाच पछिल्लो समय तामाङ र मगर समूदायले पनि मनाउन थालेका छन् । घाटुनाच मेला बैकुण्ठमा प्रत्येक वर्ष मनाइने गरिन्छ । घाटुनाच पारस्परिक नृत्यसँग जोडिएको हुन्छ, कुमारीहरुले यस नृत्य गर्ने गर्दछन् । नाच सुरु हुनुअघि पूजाआजा गरेर अनुमति लिने गरिन्छ । नृत्य सुरु भएपछि निश्चित समयसम्म निरन्तर चलिरहने जनाईएको छ ।

घाँसे गीत र तामाङ फापरे ह्वाई प्रतियोगिताले तामाङ समूदायको रितीरिवाज, परम्परा र कला संस्कृतिको जगेर्ना गर्ने गर्दछ । घाँसे गीत प्रतियोगितामा १८ वटा समूहले सहभागिता जनाएका थिए । जसमा पशुपति गिरी र चिनु चौहान प्रथम, मीना रिजाल र मैयाँ खत्री द्वितीय, विदुर गिरी र शंकर गिरी तृतीय र कलावती घिमिरे र बेलीमाया दियाली सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । साथै फापरे ह्वाई गीतमा राममाया स्याङ्बोलाई २५ हजार नगद सहित पुरस्कृत गरिएको थियो ।

मेला व्यवस्थापन समितिका संयोजक रासुदेव स्याङ्तानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यमा समापन समारोह भएको थियो । अध्यक्ष मुक्तान र गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पुरस्कृत हुनेलाई नगद र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले गाउँपालिकाभित्र मनाइने विभिन्न पर्व र मेलाहरुलाई संरक्षण र प्रवद्र्धन गर्दै आइरहेको बताए । विगतका वर्षझैं यस घाटुनाच मेलामै तामाङ कला संस्कृति जगेर्ना गर्नका लागि घाँसे गीत र तामाङ फापरे ह्वाई गीत प्रतियोगिता राखिएको उनले बताए । जहाँ घाटुनाच गुञ्जिन्छ, त्यहाँ संस्कृति बोल्छ र परम्परा जिउँदो रहने अध्यक्ष मुक्तानले बताए ।

‘सबै धर्म, जात विशेष पर्व, परम्परागत जात्रा मेलाहरुलाई गाउँपालिकाले संरक्षण र प्रवद्र्धन गर्दै आइरहेको छ, हामीले यी पर्व र मेला संरक्षण गरेनौ भने लोप भएर जान पनि सक्छौं । यसका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गरी यस ऐतिहासिक विविधता भएको कैलाश गाउँपालिकाभित्रका मेला, पर्व, धर्म र संस्कृतिलाई जगेर्ना गर्नेछ’, उनले भने ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले गाउँपालिकाभित्र रहेका सम्पूर्ण कला, भाषा, संस्कृति, विभिन्न पर्वहरुको प्रवद्र्धन र संरक्षण गरिनुपर्ने सबैको दायित्व रहेको बताए । घाटुनाच पुस्तौंदेखि पुस्तासम्म संस्कृति हस्तान्तरण गर्ने अमूल्य माध्यम बनेको बताए । यसलाई युवा पुस्तामा हस्तान्तरण गरी परम्परालाई जोगाउने जिम्मेवारी सबैको रहेको उपाध्यक्ष मल्लले बताए । कार्यक्रममा वडा २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा नम्बर ९ का अध्यक्ष भूवन सिंह घलान, कार्यपालिका सदस्य दिलमाया प्रजा, वडा २ का सदस्यद्वय फूलमाया सुनार र सूर्यबहादुर स्याङ्तानलगायतको आतिथ्य रहेको थियो ।

Exit mobile version