हेटौँडा : ललितपुरको फ्रेन्ड्स क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सहिद स्मृति रंगशालामा भएको खेलमा फ्रेन्ड्सले काठमाडौंको प्लानिङ ब्वाईज युनाईटेडलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
निर्धारित समय गोलरहित बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । टाइब्रेकरमा प्लानिङका लागि कप्तान फागुराम थारु र शिशिर लेखीको प्रहार गोल भयो भने प्रताप सिं राई, पुजन थापा र निङमा घिसिङको प्रहार बाहिरियो । फेन्ड्सका लागि सुदर्शन श्रेष्ठ, प्रशान्त लक्ष्मी र दिपेश गुरुङले गोल गरे भने कप्तान रुपेश केसी र योगेश गुरुङको प्रहार बाहिरियो । प्लेयर अफ दि म्याच फ्रेन्ड्सका महेन्द्र कार्की घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
फ्रेन्ड्सले अब सेमिफाइनलमा सर्लाहीको बागमती युथसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल बुधबार र बिहिबार हुनेछ भने फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
