म्यान अफ द म्याचको ट्रफी वितरण गरिँदै ।

हेटौँडाः मनहरी–९ रजैयास्थित केदारेश्वर युवा क्लब र बागमती प्रदेश प्रहरी गण प्रथम चैनपुर जेसीज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनल खेलमा रजैयाले सिमपानी एफसी मनहरीलाई र पुलिसले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो ।

पहिलो खेलमा रजैयाले सिमपानीलाई १–० गोलअन्तरले हराएको हो । खेलमा प्रयास तामाङले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तामाङले दोस्रो हाफमा गोल गरेका हुन् । म्यान अफ द म्याच निर्णायक गोलकर्ता तामाङ नै घोषित भए । यस्तै दोस्रो खेलमा प्रहरीले सयपत्री एफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । टाइब्रेकरमा पुलिसको ४ वटा प्रहार गोल हुँदा सयपत्रीको २ जनाले मात्र गोल गरेका थिए । सयपत्रीको एउटा प्रहार बाहिरिएको थियो भने एउटा प्रहार बारमा लागेर फर्किएको थियो । म्यान अफ द म्याच प्रदेश प्रहरी गणका विशाल थिङ घोषित भए ।

कात्तिक १ गते फाइनल खेल हुने आयोजक जेसीआई चैनपुर प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिनुभएको छ । १६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताको फाइनलकै दिन जेसीज सप्ताहको समापन समेत हुनेछ । फुटबल खेलको विकाससँगै खेलाडीको बीचमा भातृत्वको सम्बन्ध स्थापनाको लागि चैनपुर जेसीजले खुला फुटबल प्रतियोगिता आयोजना गरेको हो ।