हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक शनिबार बिहान बसेको छ । यो महिनाको नियमित बैठक बस्न नसके पनि असोज २७ गते शनिबार बिहान बैठक बसेको हो । कार्यपालिकाको नियमित बैठक हरेक महिनाको २ गते र १६ गते बस्ने कार्यतालिका भए पनि चालु आर्थिक वर्षको तीन महिना नै नियमित बैठक बस्न सकेको छैन । शनिबारको बैठकको विषयमा पन अघिल्लो दिन मात्रै कार्यपालिका सदस्यहरुलाई जानकारी गराइएको थियो । बैठकका निर्णयहरु भने उपमहानगरपालिकाले सार्वजनिक गरेको छैन ।
नगरप्रमुख मीना कुमारी लामाको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख राजेश बानियाँ भने अनुपस्थित हुनुहुन्थ्यो । उपप्रमुख बानियाँसहित ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहाल, १२ नम्बर वडाका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, १७ नम्बर वडा अध्यक्ष उद्धव सत्याल र १८ नम्बर वडा अध्यक्ष अनिलकुमार बानियाँ पनि अनुपस्थित हुनुहुन्थ्यो ।
एकजना वडा अध्यक्षका अनुसार बैठकमा कार्यपालिका सदस्य, आउने जाने भइरहन्छ । बैठकमा निर्णयहरु के के लेखिन्छन् त्यो पनि थाहा नहुने वडा अध्यक्षको गुनासो छ । कार्यपालिका बैठकका निर्णय लेख्न नै २, ३ दिन समय लाग्ने र निर्णयको प्रमाणीकरण नगरप्रमुख र कार्यकारी अधिकृतले गर्ने व्यवस्था गरिएको छ । जनप्रतिनिधिले गरेका निर्णय नगरवासीले थाहा पाउन नसकेकोमा चर्को आलोचना भइरहँदा पनि नगरप्रमुखले निरन्तर बेवास्ता गर्दै आउनुभएको छ ।
