हेटौंडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२, जितपुरभञ्ज्याङस्थित सेतीदेवी आधारभूत विद्यालयलाई ११ नम्बर वडा कार्यालयले कम्प्युटर उपलब्ध गराएको छ । आफ्नो वडाका विद्यार्थी अध्ययन गर्ने विद्यार्थी उल्लेख्य संख्यामा रहेकोले विद्यालयका लागि कम्प्युटर खरिद गर्न ११ नम्बर वडा कार्यालयले २ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
वडाले दिएको बजेटबाट ६ वटा कम्प्युटर खरिद गरिएको विद्यालयकी प्रधानाध्यापक गोमा श्रेष्ठले जानकारी दिनुभएको छ । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा १ सय ५७ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय पढाई हुने भएकोले विद्यार्थीका लागि कम्प्युटर शिक्षा प्रदान गर्न सहज हुने उद्देश्यले कम्प्युटर खरिद गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । वडाध्यक्ष गोपालबहादुर न्यासुरलाई सहयोगका लागि पहल गरेअनुसार सहयोग प्राप्त भएको भन्दै प्रधानाध्यापक श्रेष्ठले खुसी व्यक्त गर्नुभएको छ ।
ग्रामीण क्षेत्रका करिब ५० विद्यार्थी आमाबाबुविहिन अवस्थामा रहेको र आफन्तको संरक्षणमा रहेकोले उनीहरुलाई शैक्षिक सामग्री, खान, बस्न पनि समस्या हुने गरेको प्रधानध्यापक श्रेष्ठले जानकारी दिनुभएको छ । कतिपय विद्यार्थी २ घण्टा हिँडेर विद्यालयसम्म आउनुपर्ने बाध्यताले पनि उनीहरुले राम्रोसँग पढ्न, लेख्न सक्ने अवस्था नरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । आफूले सहयोगका लागि विभिन्न क्षेत्रमा आव्हान गर्ने गरेको र पछिल्लो समय सहयोग पनि प्राप्त भइरहेको प्रधानाध्यापक श्रेष्ठ बताउनुहुन्छ । गत शनिबार मात्रै लायन्स क्लबले विद्यार्थीलाई पोशाक र व्याग सहयोग गरेको थियो ।
