Home मुख्य समाचार बडादशैं सुरु

बडादशैं सुरु

हिन्दू धर्मावलम्बी नेपालीहरुको सबैभन्दा प्रमुख चाड बडादशैं सुरु भएको छ । आइतबार घटस्थापना गरेर जमरा राखेसँगै दशैं सुरु भएको हो । शक्तिपीठ, कोतघर, सामूहिकरुपमा बनाइएका दुर्गाको मूर्तिस्थल एवम् घरघरमा जमरा राखेसँगै दशैं सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दशैं मनाइन्छ । दशैंको मुख्य दिन आश्विन शुक्ल दशमी अर्थात् टीका भए पनि घटस्थापनादेखि दशैंको सुरुवात हुन्छ । जमरा राख्ने स्थानमा दियो, कलश र गणेश स्थापना गरी कलश वा घडालाई सजाएर घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरेर पूजाकोठामा चोखो ठाउँको माटो वा बालुवामा जमरा राख्ने गरिन्छ । जौ, गहुँ, मकैको बिउ छरेर जमरा राखिन्छ । जमरा राख्ने क्रममा पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवम् पञ्चपल्लव (पीपल, वर, आँप, डुम्री र पाखीको पात) समेत राख्ने प्रचलन छ । यसवर्ष आइतबार बिहान ११ः२९ बजेको शुभसाइतमा घटस्थापना गरिएको छ ।

घटस्थापनादेखि नौ दिनसम्म नवदुर्गा भगवतीको पूजा आराधना तथा दुर्गा सप्तशति चण्डी पाठ गरिन्छ । यस अवधिलाई नवरात्रि भन्ने गरिन्छ । दशैंको नवरात्रिभर विभिन्न शक्तिका प्रतीक नवदुर्गाहरुको पूजा तथा देशका विभिन्न स्थानमा रहेका शक्तिपीठहरुको दर्शन गरिन्छ । नवरात्रिको अवधिभित्र आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौवटा देवीको पूरा आराधना गरिन्छ । नौ दिनसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रि गरी नवदुर्गाको पूजा आराधना गरिन्छ । दशमी अघिसम्म देवी देवताको पूरा, आराधना गर्ने र विजयादशमीपछि दुर्गा देवीको प्रसादस्वरुप मान्यजनबाट टीका तथा जमरा लगाउने दशैंको मुख्य संस्कृति हो ।

प्रतिपदाका दिन शक्तिस्वरुपा भगवती शैलपुत्रीको पूजा आराधना गरिन्छ । साँढेलाई बहान बनाएर विराजमान भएकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल रहेको हुन्छ । द्वितीयाका दिन ब्रह्मचारिणीको पूजा गरिन्छ । ब्रह्मचारिणीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु रहेको हुन्छ । तृतीयाका दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । चन्द्रघण्टाको विभिन्न शस्त्र–अस्त्रले विभूषित दश हात रहेको छ । चतुर्थीका दिन कुष्माण्डा भगवतीको पूजा आराधना गरिन्छ । यिनको आठ वटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा र जपमाला रहेको छ । नवरात्रिको पञ्चमीका दिन शक्तिस्वरुपा भगवती स्कन्दमाताको पूजा गरिन्छ । कमलको फूलको आशनमा बस्ने सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको हो ।

षष्ठीका दिन देवी कात्यायनीको पूजा आराधना गरिन्छ । चार हात भएकी कात्यायनीको बाहन सिंह हो । सप्तमी अर्थात् फूलपातीका दिन शक्तिस्वरुपा भगवती कालरात्रिको पूजा गरिन्छ । तीन आँखा र चार हात भएकी यिनले हातमा तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी छि । नवरात्रिको अष्टमीका दिन महागौरीको पूजा गरिन्छ । चार हात भएकी महागौरीको माथिल्लो दायाँतिरको हातमा अभयमुद्रा र त्रिशूल छन् भने बायाँतिरको हातमा डमरु र वरमुद्रा छन् । नवरात्रिको अन्तिम नवमीका दिन सिद्धिदात्रिको पूजा आराधना गरिन्छ । कमलको फूलमा बस्ने र चार हात भएकी यिनका हातमा चक्र, गदा, शंख र कमलको फूल छन् । नवरात्रिमा नौवटा देवीहरुको पूजासँगै क्रमशः मंगल, राहु, वृहस्पति, शनि, बुध, केतु, शुक्र, सूर्य एवम् चन्द्रमालाई नवग्रहको रुपमा ग्रहशान्ति पूजा गर्ने चलन छ ।

नेपाली हिन्दूहरुको प्रमुख चाड दशैंलाई राष्ट्रिय चाडको रुपमा मान्ने गरिएको छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेका कारण दशैंलाई अन्य धर्मावलम्बीहरुले पनि नेपालीको साझा राष्ट्रिय चाडको रुपमा स्वीकारेको पाइन्छ । दशैंको समयमा मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, आफन्त तथा मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने, पिङ खेल्ने, शक्तिपीठहरुको दर्शन गर्ने तथा विभिन्न ठाउँमा घुमफिर गर्ने परम्परा रहेको छ । दैत्यहरुसँग देवताले युद्ध गरेर विजयी भएको उत्सवस्वरुप दशैं मनाउने चलन रहिआएकाले देवीको आराधना र पूजापाठ गर्ने गरिएको हो । दशैंको विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म परिवारका मान्यजन र आफन्तबाट टीका, आशीर्वाद र जमरा ग्रहण गरेर दशैं मनाइन्छ । अहिले नेपालीहरुको आर्थिक अवस्था सन्तोषजनक नभए पनि यो राष्ट्रिय पर्वको अवसरमा शारीरिकरुपमा स्वस्थ र मानसिकरुपमा प्रशन्न हुँदै सबैले दशैं मनाउनु आवश्यक छ ।

Exit mobile version