Home खेलकुद टि–२० क्रिकेट उपाधिका लागि ओमनगर र मकवानपुर क्रिकेट क्लब भिड्ने

टि–२० क्रिकेट उपाधिका लागि ओमनगर र मकवानपुर क्रिकेट क्लब भिड्ने

म्यान अफ द म्याच रिजन ढकाललाई पुरस्कृत गरिँदै ।

हेटौँडाः हेटौँडामा जारी हेटौँडा उपमहानगर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि ओमनगर क्रिकेट क्लब र मकवानपुर क्रिकेट क्लबबीच खेल हुने भएको छ । फाइनल खेल भोलि सोमबार हेटौँडा–४ हुप्रचौरमा हुनेछ । आइतबार भएको पहिलो सेमीफाइनल खेलमा नारायणी कलेजलाई ४ विकेटले पराजित गर्दै ओमनगर फाइनलमा प्रवेश गरेको हो भने आइतबारै भएको दोस्रो सेमीफाइनल खेलमा कमाने क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै मकवानपुर क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेमीफाइनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको नारायणी कलेजले ७५ रन मात्रै जोड्न सक्यो । १९ ओभरमा सबै विकेट गुमाउने क्रममा नारायणी कलेजका सुवेन्द्र पासवानले ३२ रन र राजिवले १५ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । जवाफी व्याटिङमा उत्रिएको ओमनगरले ६ विकेट गुमाएर १६ औं ओभर ७६ रनको लक्ष्य भेट्टायो । ओमनगरका लागि गोकुल अधिकारीले ३० रन र विशाल फूयाँलले १९ रनको योगदान दिए । प्लेयर अफ द म्याच ओमनगरका गोकुल अधिकारी घोषित भए ।

आइतबारै भएको दोस्रो सेमीफाइनल खेलमा टल जितेर मकवानपुर क्रिकेट क्लबले पहिले व्याटिङ गरेको थियो । मकवानपुर क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रन मात्रै बनाउन सक्यो । मकवानपुरका लागि सुमन सुनारले २५, सन्तोष उपाध्यायले १८ र रिजन ढकालले ११ रन जोड्ने बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर जोड्न सकेनन् । जवाफी व्याटिङमा उत्रिएको कमाने क्रिकेट क्लबका लागि समीर चौलागाईले अविजित रहँदै ४३ रन र ओपनर राजेश लुइँटेलले ३९ रन जोडे पनि हार टार्न सकेनन् ।

कमानेका ओपनर सन्देश ढकालसहित शिव थापा, सागर मगर र विष्णु राउत शून्यमै आउट भए भने मिराज देवान, राजु यादव र सुजन चौलागाईले १÷१ रन मात्रै जोडेपछि निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९१ रन मात्रै जोड्न सफल भयो । मध्यम लक्ष्य भेट्टाउन रोक्ने क्रममा मकवानपुर क्रिकेट क्लबका रिजन ढकाल एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका रिजनले ७ रन मात्रै खर्चे । रिजन प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ ।

प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृष्ट खेलाडीका लागि समेत पुरस्कारको व्यावस्था गरिएको छ ।

Exit mobile version