Home मुख्य समाचार जिल्लाले सिफारिस नै नगरेका पत्रकार केन्द्रको सूचिमा !, महासंघ मकवानपुरको ध्यानाकर्षण

जिल्लाले सिफारिस नै नगरेका पत्रकार केन्द्रको सूचिमा !, महासंघ मकवानपुरको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ मकवानपुरले आइतबार जारी गरेको विज्ञप्ति ।

हेटौंडाः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रकाशित गरेको पत्रकार सदस्यताको विवरणप्रति पत्रकार महासंघ मकवानपुर शाखाले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष मणिराज गौतमले आज एक विज्ञप्ति प्रकाशित गर्नुहुँदै महासंघ केन्द्रले जारी गरेको पत्रकारको सदस्यता नवीकरण तथा नयाँ सदस्यताको विवरणप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

मापदण्डमा नपरेकाहरुलाई जिल्ला समितिले सिफारिस नगरेको स्पष्ट पार्दै बागमती प्रदेश समितिले जिल्ला शाखासँग समन्वय र सोधीखोजी नै नगरी आफूखुसी नयाँ सदस्यता थप्ने र नवीकरण गरेको दावी विज्ञप्तिमा छ । जिल्ला शाखाको अधिकार क्षेत्रलाई प्रदेश समितिले नजरअन्दाज गरेको भन्दै खेद प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रदेश समितिले गरेको सिफारिसप्रति चित्त नबुझे कात्तिक ११ गतेसम्ममा केन्द्रीय समितिमा उजुरी दिन सकिने उल्लेख गर्दै अध्यक्ष गौतमले सञ्चारकर्मीलाई उक्त प्रक्रियामा सहभागी हुन अनुरोध पनि गर्नुभएको छ ।

यसअघि नेपाल पत्रकार महासंघले आस्थाका आधारमा आफ्ना संगठन निकटका व्यक्तिको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरेको भन्दै प्रेस चौतारी बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कार्यालयमा शनिबार तालाबन्दी समेत गरेको छ । प्रेस चौतारी बागमती प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडा नेतृत्वको एक टोलीले हेटौँडास्थित महासंघको प्रदेश समिति कार्यालयमा तालाबन्दी गरिदिएको थियो । जिल्ला हुँदै प्रदेशले सिफारिस गरेको आधारमा नेपाल पत्रकार महासंघले गत शुक्रबार नवीकरण गरिएको र नयाँ सदस्यता प्राप्त गरेका महासंघका सदस्यको सूची सार्वजनिक गरेको थियो ।

Exit mobile version