हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा जारी उपमहानगरपालिका टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमीफाइनल खेलमा ओमनगर क्रिकेट क्लब विजयी भएको छ । आइतबार बिहान भएको खेलमा नारायणी कलेजलाई ४ विकेटले पराजित गर्दै ओमनगर फाइनलमा प्रवेश गरेका हो ।
टस जितेर पहिले व्याटिङ गरेको नारायणी कलेजले ७५ रन मात्रै जोड्न सक्यो । १९ ओभरमा सबै विकेट गुमाउने क्रममा नारायणी कलेजका सुवेन्द्र पासवानले ३२ रन र राजिवले १५ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । जवाफी व्याटिङमा उत्रिएको ओमनगरले ६ विकेट गुमाएर १६ औं ओभर ७६ रनको लक्ष्य भेट्टायो । ओमनगरका लागि गोकुल अधिकारीले ३० रन र विशाल फूयाँलले १९ रनको योगदान दिए ।
प्लेयर अफ द म्याच ओमनगरका गोकुल अधिकारी घोषित भए । हेटौँडाको हुप्रचौरमा केहीबेरमा दोस्रो सेमीफाइनल खेलमा मकवानपुर क्रिकेट क्लब र कमाने क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल भोलि सोमबार हुनेछ । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृष्ट खेलाडीका लागि समेत पुरस्कारको व्यावस्था गरिएको छ ।
