हेटौँडाः हेटौँडामा प्रथम क्रिक्सल प्रतियोगिता सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा–४ को आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कर्रा सुपर किंगले विजयी सुरु सुरुवात गरेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष नवीन सिग्देलले आउने दिनहरुमा अझ खेलकुदको विकासलाई प्राथमिकता दिने बताउनुभयो ।
हेटौँडा–४ कमलडाँडास्थित फुटसल कोर्टमा भएको खेलमा टस जितेर पहिले व्याटिङमा उत्रिएको कर्रा सुपर किंगले प्याटन युथ क्लबलाई १९ रनले हराएको छ । कर्राले ६ ओभरमा ३ विकेट गुमाएर प्याटन क्लबलाई ४५ रनको लक्ष्य दिएकोमा प्याटन क्लबले ६ ओभरमा ४ विकेटको क्षतिमा २५ रन मात्र बनाउन सफल भएको हो । कर्राको तर्फबाट सुमनले १३ रन, रिजन ढकालले १५ रन र निरजले ९ रन बनाएका थिए ।
यस्तै प्याटन क्लबको तर्फबाट आदेशले १८ बनाएका थिए । म्यान अफ द म्याच कर्राका रिजन ढकाल घोषित भए । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्लेयर अफ द टुर्नामेन्टका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ ।











