मनहरीः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ७ भवनको आइतबार उद्घाटन गरिएको छ । मनहरी–७ बिजौनामा निर्माण गरिएको भवनको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले शिलालेख अनावरण गरेर भवनको उद्घाटन गर्नुभएको हो ।
नेता बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रपछि धेरै उत्तार–चढावका बाबजुद स्थानीय तहको स्थापनापछि बनेको वडा कार्यालय भवनबाट अब जनताले सहजरुपमा सम्पूर्ण सेवा लिन पाउनेमा खुशी प्रकट गर्नुभयो । संघीयतामा सबैको अस्तित्व र पहिचानलाई स्थायित्वका लागि स्थानीय तह अपरिहार्य रहेको बताउनुहुँदै नेता बानियाँले जनताको अवस्था परिवर्तन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

मनहरी गाउँपालिकाको बजेटमा रत्नकुमारी एण्ड सन्स् प्रालि हेटौंडाले ८७ लाखमा भवन निर्माण गरेको वडाध्यक्ष ठाकुरराम तितुङले बताउनुभयो । कार्यक्रममा वडाभित्र रहेका रमन्टार मावि र रोटरी माविमा टाढा–टाढाबाट अध्ययनका लागि आउने जेहेन्दार छात्रछात्राहरुलाई दुई लाख बराबरको २३ वटा साईकल वितरण गरिएको छ ।
वडाध्यक्ष ठाकुरराम तितुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुईटेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिका कार्यबाहक अध्यक्ष शिवप्रसाद खनाल, नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा एमाले मनहरी अध्यक्ष नवीन सुवेदी, मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेती, मनहरी ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, मनहरी ७ का वडा सदस्य नवराज सुवेदी, मनहरी गाउँपालिकाका कार्यकारी अधिकृत मोहनकुमार श्रेष्ठ, मनहरी शिक्षा श्रोतव्यक्ति विदुर थापा, डिपार्ट सामुदायिक वन मनहरीका अध्यक्ष डम्बरबहादुर मोक्तानलगायतले शुभकामना मन्तव्य दिएका थिए ।











