सहकारीका ज्येष्ठ सदस्यलाई सम्मान गर्नुहुँदै सहकारीका अध्यक्ष दिनेश विडारी ।

हेटौँडाः हेटौँडा–११, थानाभर्याङस्थित उपयोगी सहश्राव्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साधारणसभाको अवसरमा ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । सहकारीले २६ जना ज्येष्ठ सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । यस्तै सहकारीले सेयर सदस्य परिवारमध्ये एसईईमा उत्कृष्ट नतीजा हासिल गर्ने दुईजना विद्यार्थीलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरेको छ । सहकारीले कर्मचारीतर्फ प्रज्ञा बानिया र सफलता विडारीलाई पनि सम्मान गरेको छ ।

साधारणसभाको अवसरमा असल ऋणी दुईजना, २ जना असल बचतकर्ता र २ जना बालबचतकर्तालाई पनि सम्मान गरेको छ । सहकारीमा ३ सय ८१ जना बाल बचतकर्ता रहेको सहकारीका अध्यक्ष दिनेश विडारीले जानकारी दिनुभयो । विडारीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रमाम वडा अध्यक्ष जुना दाहाल, हेटौँडा उपमहानगरपालिकाको सहकारी शाखाका कर्मचारी हिमप्रसाद पौडेलको पनि आतिथ्य रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनअनुसार सहकारीको सेयर सदस्य एक हजार छ सय १६ जना रहेका छन् । सहकारीको सेयर पुँजी एक करोड १६ लाख रुपैयाँ रहेको छ भने सहकारीले सात करोड ४० लाख रुपैयाँ बचत संकलन गरेको छ । सात करोड ४९ लाख रुपैयाँ ऋण लगानी गरेको सहकारीको आफ्नै भवन रहेको छ । साधारणसभामा अध्यक्ष दिनेश विडारी, सचिव ईन्द्रप्रसाद सापकोटा र कोषाध्यक्ष रामेश्वर नगरकोटीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।