हेटौंडाः संघीय निजामती सेवा ऐनको विरोधमा स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कर्मचारी आन्दोलनका कारण मकवानपुरका सबै स्थानीय तहको सेवा प्रवाहमा असर परेको छ, जसले गर्दा सेवाग्राही मारमा परेका छन् ।
स्थानीय तह कर्मचारी संघर्ष समितिले काठमाडौंको माइतीघरमा जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै देशभरका स्थानीय तहका कर्मचारीले पेन डाउन गरेका छन् । मकवानपुरको बागमती गाउँपालिका, बकैया गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा अत्यावश्यकबाहेक सबै काम ठप्प भएको छ । जिल्लाको कैलाश गाउँपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकामा आन्दोलनलाई ऐक्यबद्घता जनाउँदै कर्मचारीले सामान्य काम गरिरहेको बताइएको छ ।
संघीय सरकारले प्रतिनिधिसभामा निजामती सेवा ऐनको मस्यौदा पेश गरेपश्चात् कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । पेस भएको ऐन स्थानीय तहका कर्मचारीको हितविपरित भएको भन्दै कर्मचारीहरुले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका हुन् । कर्मचारीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन उल्लेख गरिनुपर्ने माग गरेका छन् । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाअन्तर्गत् रहने गरी व्यवस्था गर्नुपर्ने, निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनु पर्ने, बिना सहमति ७५३ वटा स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गर्नुपर्नेसमेत माग रहेको छ ।
समायोजनका कर्मचारीहरुको (सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी) उचित व्यवस्थापन गरिनु पर्ने, तीनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गर्नुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याण कोषको अनिवार्य व्यवस्था गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनु पर्ने, अन्तरप्रदेश कामकाजमा रहेर सरुवा भएकालाई कामकाज रहेकै स्थानीय तहमा पदस्थापनाका लागि व्यवस्था गर्नुपर्नेजस्ता माग राखेर कर्मचारी आन्दोलित भएका छन् ।
केहि सयम पहिले शिक्षकहरुले विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा आन्दोलन गरेका थिए । उक्त आन्दोलनले २ दिन विद्यार्थीको पठनपाठन अवरुद्ध भएको थियो । शिक्षकपछि कर्मचारी पनि आन्दोलित भएकोमा आलोचना समेत भइरहेको छ । स्थानीय तहका कर्मचारी आन्दोलित भएर पालिकाका सेवाग्राही प्रभावित भए पनि जनप्रतिनिधिले भने सहजीकरणको प्रयास गरेको छैन । अझ कर्मचारीका माग स्थानीय सरकारसँग सम्बन्धित नभएको भन्दै कर्मचारीको आन्दोलनको बेवास्ता गरिएको छ ।
बुधबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले कर्मचारीको आन्दोलन नगरप्रमुखसँग नभई संघीय सरकारसँग भएको भन्दै आन्दोलनको विषयमा बुझ्न समेत अनिच्छा व्यक्त गर्नुभयो । हेटौँडा उपमहानगरमा नगरप्रमुख लामा आइपुग्दा आन्दोलनमा रहेका कर्मचारीले आफ्ना माग पूरा गर्न नारावाजी समेत गरेका थिए ।
