हेटौंडाः ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा भएको स्वास्थ्य शिविरमा १ सय ५४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । मंगलबार भएको शिविरमा १ सय ५४ जनाको स्वास्थ्य जाँच गरिएको वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।
शिविरमा प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र कर्मचारीको परिवारका सदस्यको स्वास्थ्य जाँच गरिएको छ । ‘प्रिभेन्सन इज बेटर देन केयर’को नाराका साथ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा स्वास्थ्य शिविर एवम् सचेतनामूलक कार्यक्रम सम्पन भएको हो । शिविरमा उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, क्यान्सर, पाठेघर रोगसम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।
परीक्षण र उपचारसँगै जनचेतनामूलक पर्चा, पम्पलेट वितरण गरिएको रेग्मीले जानकारी दिनुभयो । शिविरमा औषधि वितरणसमेत गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा स्त्रीस्वास्थ्य विशेषज्ञ डा. अभिमन्यु श्रेष्ठको नेतृत्वमा मेडिकल अधिकृत, डाक्टर तथा अरु स्वास्थ्यकर्मीले स्वास्थ्यजाँच गर्नु भएको थियो ।