Home मुख्य समाचार हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्यको वार्ड सञ्चालनमा आउँदै

हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्यको वार्ड सञ्चालनमा आउँदै

हेटौंडा अस्पतालको तस्विर ।

हेटौंडाः हेटौंडा अस्पतालमा एक महिनापछि मानसिक स्वास्थ्यको परीक्षण तथा उपचार गर्ने गरी वार्ड सञ्चालनमा आउने भएको छ । सोमबार हेटौंडा अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा मनोचिकित्सक डा. सुरेन्द्र शेरचनले एक महिनापछि मानसिक रोगको वार्ड सेवा सञ्चालनमा आउने बताउनुभएको हो ।

मंगलबार (अक्टोबर १०) परेको विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पताल र मानवसेवा आश्रममा वार्डको सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । डा. शेरचनका अनुसार हेटौंडा अस्पतालमा आकस्मिकसहित २५ बेडको मनोचिकित्सा वार्ड सेवा सञ्चालनमा आउँदैछ । साथै, मानवसेवा आश्रम, हेटौंडामा ३० बेड क्षमताको मानसिक स्वास्थ्य पुनस्र्थापना केन्द्र सञ्चालनमा ल्याइने भएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा मानसिक स्वास्थ्य पुनस्र्थापना केन्द्र सञ्चालन हुने डा. शेरचनले बताउनुभयो ।

यस्तै, सामुदायिक मानसिक स्वास्थ्य सेवा पनि सञ्चालनमा आउने भएको छ । मकवानपुर जिल्लाको २ वटा गाउँपालिकाको केन्द्रमा महिनामा एक दिन ओपीडी सेवा प्रदान गरिने भएको हो । यसमा सामुदायिक फार्मेसी सेवासमेत सञ्चालनमा ल्याइनेछ । आगामी आर्थिक वर्षमा मकवानपुर जिल्लाको सबै गाउँपालिकाको केन्द्रमा विशेषज्ञ चिकित्सकसहितको टोलीले महिनामा एक दिन मानसिक स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना रहेको डा. शेरचनले बताउनुभएको छ ।

हेटौंडा अस्पतालले मानसिक स्वास्थ्य उपचारका लागि २ बजेदेखि ५ बजेसम्म विस्तारित ओपीडी सेवा सञ्चालन गर्ने योजना बनाइरहेको बताइएको छ । अहिलेको आधुनिक युगमा मानसिक स्वास्थ्यलाई सही अर्थमा बुझ्न जरुरी रहेको डा. शेरचन बताउनुहुन्छ । विकसित तथा विकासशील देशहरुमा चिन्ता, डिप्रेशन, आत्महत्या, अनिद्रा, लागूपदार्थ दुव्र्यसन, मदिरा सेवन, महिला हिंसा, युद्ध आदिले मानसिक स्वास्थ्य समस्या बढाइरहेको छ । अशक्तता जन्माउने प्रमुख १० रोगहरुमध्ये ४ वटा मानसिक रोग रहने डा. शेरचनले बताउनुभयो ।

Exit mobile version