हेटौँडाः नेपाल स्काउटको बागमती प्रदेश समितिले मकवानपुरका ६४ जना विद्यार्थीलाई स्काउट पोशाक वितरण गरेको छ । स्काउटले मकवानपुरगढी गाउँपालिका–५, धादिङमा रहेको शारदा माविका ३२ जना र हेटौंडा उपमहानगरपालिकाको नकौलीमा रहेको आधारभूत विद्यालयका ३२ जना गरी ६४ जना छात्रछात्रालाई पोशाक वितरण गरेको हो ।
सानै उमेरबाट नै सामाजिक भावनाको विकास गरी अनुशासित, नैतिकवान र जिम्मेवार नागरिक बनाउन विभिन्न जीवनोपयोगी सीप सिकाउँदै विपदमा सहायता प्रदान गर्नसक्ने स्वयम्सेवक निर्माण गर्न स्काउट पोशाक वितरण गरेको नेपाल स्काउटका बागमती प्रदेश सदस्य अशोक सारु मगरले बताउनुभयो । अन्तर्राष्ट्रिय संस्थाको रुपमा रहेको स्काउटले विद्यालय तहका विद्यार्थीलाई सामाजिक गतिविधि तथा सेवामा प्रेरित गर्दै आएको उहाँले जानकारी दिनुभयो । स्काउट भाइबहिनीले स्थानीयस्तरमा पनि विपदको समयमा सेवा गर्ने काम ठूला मान्छे सँगसँगै गर्ने गरेको उहाँको भनाइ छ ।
स्काउटले गरेका कामहरु प्रसंशनीय रहेको र उपमहानगरपालिकामा पनि स्काउटका विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटका लागि पहल गरिने हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्य इश्वरी रसाइलीले बताउनुभयो । पोशाक वितरण कार्यक्रममा स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगर, महेन्द्र राना, कार्यालय प्रमुख शोभा लामिछाने, सहायक शौरभ अधिकारी र विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।
