
हेटौंडाः मकवानपुरमा शुक्रबार र शनिबार स्वास्थ्य वार्षिक समीक्षा कार्यक्रम भएको छ । वार्षिक समीक्षा कार्यक्रममा मकवानपुर जिल्लाका सबै पालिकाको सहभागिता रहेको थियो ।
सम्पादित गरिएका स्वास्थ्य कार्यक्रममा मकवानपुर जिल्लाको दश वटा स्थानीय तहहरुमध्ये मुख्य सूचकको आधारमा मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिका प्रथम हुन सफल भएको छ ।
नागरिक भवन बनस्खण्डीमा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिका दुबैले सयमा ८० नम्बर ल्याएर प्रथम भएको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । जिल्लास्तरीय कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाले ७१ नम्बर ल्याई दोस्रो भएको छ ।
दुई दिन भएको कार्यक्रममा मकवानपुरका १० वटै पालिकालाई बोलाएर गत आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गरिएका कामको समीक्षा र चालु आर्थिक वर्षको योजनाको छलफल गरिएको थियो । अधिकारीका अनुसार मकवानपुर जिल्लामा भएका सबै पालिकाका निजी तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी, संस्थागत स्वास्थ्य इकाई र आयुर्वेद शाखाको समेत सहभागिता रहेको थियो । हरेक पालिकाले आफुले गरेको समीक्षा र प्रयासको रिपोर्टिङ गरेर पेश गरिएको थियोे ।
अधिकारीका अनुसार मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकालाई प्रशंसापत्र हस्तान्तरण गरिएको छ । स्वास्थ्य वार्षिक समीक्षा कार्यक्रममा पहिलो दिन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख र दोस्रो दिन स्वास्थ्य मन्त्रालयका चिकित्सक डा. खगेश्वर खेलानको प्रमुख आतिथ्य रहेको थियो ।