
हेटौँडाः मकवानपुरको विद्यालयस्तरीय फुटबल प्रतियोगिताका लागि अष्ट्रेलियाबाट सहयोग प्राप्त भएको छ । हेटौँडा–२ घर भई हाल अष्ट्रेलिया रहनुभएका रोशनप्रसाद दाहालले मकवानपुरको विद्यालयस्तरीय फुटबल प्रतियोगिताका लागि वार्षिक एक लाख रुपैयाँका दरले ५ वर्षका लागि सहयोग गर्नुहुने भएको हो ।
अष्ट्रेलियाको मेलबर्नस्थित रोयल वेस्टर्न क्लबको अध्यक्ष समेत रहनुभएका दाहालले आफ्ना बुबा स्व. कृष्णप्रसाद दाहालको स्मृतिमा सहयोग गर्न लाग्नुभएको हो । दुई वर्षमा २० प्रतिशत रकम बढाउने गरी मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा र सहयोगी दाहालबीच करार सम्झौता समेत गरिएको छ । महिला विश्वकप फुटबल खेल हेर्न केही समयअघि अष्ट्रेलिया पुग्नु भएका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले सहयोगका लागि पहल गर्नुभएको थियो ।
सहयोगसम्बन्धी सम्झौतामा गत मंगलबार हस्ताक्षर समेत भएको छ । सहयोगसम्बन्धी सम्झौताअनुसार अब प्रतियोगिताको नाम “स्व. कृष्णप्रसाद दाहाल स्मृति जिल्ला स्कूलस्तरीय फुटबल प्रतियोगिता” राखिने छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत शुक्रबारदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा २९ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता हेटौँडा–६, गौरिटारस्थित रंगशालामा भइरहेको छ ।











