Home मुख्य समाचार थारु समुदायले हेटौँडामा मनाए जितिया पर्व

थारु समुदायले हेटौँडामा मनाए जितिया पर्व

जितिया पर्वको अवसरमा नृत्य गर्दै दुई किशोरी ।

हेटौँडाः हेटौँडाका थारु महिलाले पनि जितिया पर्व मनाएका छन् । थोरै संख्यामा भए पनि हेटौँडामा थारु समुदायले आफ्ना पर्व विशेष महत्वका साथ मनाउने गरेका छन् । थारु समुदाय एकै ठाउँमा भेला भएर पर्व मनाउने गरेका छन् । शनिबार जितिया पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरी सहभोज गरेका छन् । थारु महिला सभा मकवानपुरले थारु कल्याणकारिणी सभा मकवानपुरसँगको समन्वयमा जितिया पर्व मनाएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका उपाध्यक्ष लिलाकुमार घलान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय प्रतिनिधी एवम् मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक सुरेश श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले भाषा, संस्कृतिको संरक्षणमा आदिवासी जनजाति महिलाको महत्वपूर्ण भूमिका रहेको भन्नुहुँदै स्थानीय सरकार समुदायको संस्कार, संस्कृतिको संरक्षणमा गम्भीर रहेको बताउनुभयो । कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष घलानले जितिया पर्व थारु महिलाको स्वास्थ्य र पारिवारिक दृष्टिले राम्रो भएको भन्दै थारुसहित आदिवासी, जनजातिको संस्कार, संस्कृति जगेर्ना गर्न स्थानीयसँगै प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

फोनिजका संघीय प्रतिनिधी श्रेष्ठले चाडपर्वहरुलाई मौलिक रुपमा मनाउँदै नयाँ पुस्ताहरुलाई हस्तान्तरण गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम थारु महिला सभा मकवानपुरकी सभापति द्रोपतीदेवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा परम्परागत थारु भेषभुषामा सजिएर महिलाहरुले गीत, नृत्यसहित आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा मकवानपुरका निवर्तमान सभापति हरिलाल चौधरी, कोषाध्यक्ष उमा चौधरी, थारु विद्यार्थी सभाका केन्द्रीय सदस्य दिप्सन चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति सचिदानन्द चौधरी, जिल्ला सल्लाहकार किशोरकुमार चौधरी, थारु विद्यार्थी सभा मकवानपुरका सभापति राजेशप्रसाद चौधरी लगायतको आतिथ्य रहेको थियो ।

जितिया पर्वको पहिलो दिन हेटौंडाको राप्तीखोलामा सामुहिक नुहाएका थारु महिलाहरुले दोस्रो दिन जित महान भगवानको निराहार÷निर्जल व्रत बसेर जित महान भगवानको कथा सुनेका थिए । साथै, तेस्रो दिन विधिपूर्वक सामुहिक पुजा गरेर पारन गरेको थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । विशेषगरी थारु समुदायका विवाहित महिलाहरु आफ्नो सन्तानको दीर्घायुका लागि व्रत बस्ने गर्दछन् । हेटौंडामा थारु समुदायको माघी, समा चकेवा, जितिया पर्व सामुहिक रुपमा मनाउँदै आएका छन् ।

Exit mobile version