हेटौंडाको थोक तरकारी बजार । फाइल तस्वीर ।

हेटौंडाः भोलि बिहिबारदेखि हेटौंडाको थोक तरकारी बजार खुल्ने भएको छ । जेठ १ गतेदेखि बन्द भएको तरकारी बजार भोलिबाट बिहान ९ बजेसम्म खुल्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्थानीयवासी र जनप्रतिनिधिले समेत विरोध गरेपछि तरकारी बजार बन्द भएको थियो । बैशाख महिनामा पनि केही दिन बजार बन्द भएको थियो ।

आज बुधबारदेखि बिहान बजारका अधिकांश पसल सुचारु भएसँगै उपमहानगरपालिकाले तरकारीको थोकबजार पनि सुचारु गर्न सहमति जनाएको हो । तरकारीको थोक बजार बन्द हुँदा व्यवसायीले बजारका विभिन्न स्थानमा तरकारीको व्यापार सुरु गरेका थिए । व्यवसायीलाई स्वास्थ्यका दृष्टिले सुरक्षा सतर्कता अपनाएर बजार व्यवस्थापन गर्ने गरी बजार सुचारु गर्न हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहमति जनाउनुभएको तरकारी तथा फुलफुल व्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिनुभयो ।

तरकारी बजार सुचारु गर्न उपमहानगरपालिकासँग पटक–पटक ताकेता गर्दै आएको उल्लेख गर्नुहुँदै व्यवसायी गोविन्द दाहालले भोलिदेखि बजार सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।