हेटौंडाः संघीय निजामती सेवा ऐनको विरोधमा हेटौंडा उपमहानगरापालिकाका कर्मचारीहरुले आन्दोलन गरेका छन् । संघीय सरकारले संसदमा पेस गरेको संघीय निजामती सेवा ऐनको विरोधमा शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिकाका कर्मचारीहरुले कार्यालय परिसरमा विरोध प्रदर्शन गर्दै प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईलाई ज्ञापनपत्र बुझाएका छन् ।
संसदमा संघीय निजामती सेवा ऐनको मस्यौदा तयार भएर संसदमा आउने चरणमा रहेको अवस्थामा निजामती कर्मचारीको हित विपरित भएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । स्थानीय तहका कर्मचारीहरुको केन्द्रीय संघर्ष समितिले काठमाडौंको माइतिघरमा आन्दोलन गरेकाले ऐक्यबद्धता जनाउँदै २ घण्टासम्म पेनडाउन गरेको हेटौंडा उपमहानगरपालिकाका कानुन शाखा प्रमुख लक्ष्मण मैनालीले जानकारी दिनुभयो । मैनालीका अनुसार माग सम्बोधन नभएसम्म दैनिक २ घण्टा पेनडाउन गर्ने जानकारी गराउनुभयो ।
कर्मचारीहरुले निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारीलाई समेट्नु पर्ने, बिना सहमति ७५३ वटै स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने, संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनु पर्नेजस्ता विभिन्न १५ वटा माग राखेका छन् ।