हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा स्वस्थकर खाना प्रदर्शनी कार्यक्रम भएको छ । शुक्रबार विद्यालयका सबै विद्यार्थीलाई स्वस्थ्यकर खाना प्रदर्शन गरी स्वस्थ खाना खानाको आवश्यकता र फाईदा बारे जानकारी गराइएको विद्यालयकी नर्स प्रतिमा सेढाइले जानकारी दिनुभएको छ ।
६ कक्षादेखि माथिका विद्यार्थीले पोषण पिरामिड बनाएका थिए । पोषण पिरामिडमा आवश्यकता अनुसार अन्न र कन्दमुल, गेडागुडी दाल, फलफुल र सागपात, पशुपंक्षीजन्य र माछामासु राखिएको थियो । सेढाईका अनुसार स्वस्थकर खाना प्रदर्शनी कार्यक्रममा प्रयोग भएको फ्लेक्स, चार्टपेपरहरु विद्यार्थीले आफैँ बनाएका थिए । स्वस्थकर खाना प्रदर्शनी कार्यक्रममा वडाध्यक्ष सुशील घिमिरेसहित वडा सदस्यहरुले पनि अवलोकन गरेका थिए ।
प्रदर्शनीको शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अवलोकन गरेका थिए । विद्यालयले स्वस्थ खानपिन, पोषिलो खानेकुरा र असल व्यवहारलाई लक्ष्य बनाएर कार्यक्रम सञ्चालन गरेको हो । नर्स सेढाईका अनुसार चिनी, चिल्लो, नुन, तेल सीमित रुपमा खानुपर्ने बताउनुभएको छ । एउटा स्वस्थ आमा बन्नका लागि किशोर उमेरदेखि नै स्वस्थ खानपिन गर्न आवश्यक पर्ने सेढाईले बताउनुभयो ।