हेटौंडा–८, कमानेस्थित एक कुखुरापालक किसानले विक्रीका लागि पठाउन तयार पारेको अण्डा ।

हेटौंडाः किसानले प्राप्त गर्ने लेयर्स कुखुराको अण्डाको मूल्यमा केही सुधार भएको छ । आजबाट लेयर्स कुखुराको अण्डा प्रतिक्रेट २५० रुपैयाँमा सप्लायर्सले खरिद गर्न सुरु गरेको कुखुरापालक किसानले जनाएका छन् । हिजोसम्म सप्लायर्सले किसानलाई लेयर्स कुखुराको अण्डाको मूल्य २३५ रुपैयाँ दिँदै आएका थिए ।

लेयर्स कुखुराको अण्डा प्रतिक्रेट २५० रुपैयाँमा विक्री गर्न पाउँदासम्म किसानले अण्डा उत्पादनको लागत उठाउन सक्ने अवस्था रहने बताउँदै आएका छन् । तर, लकडाउनको बहानामा सप्लायर्सले प्रतिक्रेट १७० रुपैयाँसम्ममा किसानसँग लेयर्स कुखुराको अण्डा खरिद गरेका थिए । किसानले लागत भन्दा निक्कै कम मूल्यमा अण्डा विक्री गर्नुपरेको भन्दै गुनासो गरेपछि मूल्यमा सुधार भएको थियो । यसअघि पनि सप्लायर्सले चितवनमा अण्डाको मूल्य घटेको भन्दै अण्डाको मूल्य प्रतिक्रेट २३५ रुपैयाँ कायम गरेका थिए । तर, चितवनस्थित अण्डा उत्पादक संघको केन्द्रीय समितिले मूल्य नघटाएको भन्ने समाचार प्रकाशित भएपछि सप्लायर्सलाई दबाव बढेको थियो ।

मकवानपुर जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले चितवनमा पनि अण्डाको मूल्य अहिले २५० नै कायम भएको दावी गर्नुहुँदै मकवानपुरमा पनि अण्डाको मूल्यमा केही सुधार भएको जानकारी दिनुभयो । अण्डाको मूल्यमा चलखेल भएको भन्ने समाचार प्रकाशित भएपछि सप्लायर्सलाई दबाव परेकै कारण मूल्यमा सुधार आएको मकवानपुरका कुखुरापालक किसानको भनाइ छ । किसानले दानाको मूल्यमा कमि नआएको प्रति पनि चिन्ता व्यक्त गरेका छन् । अहिले दानाको मूल्य घट्नु पर्नेमा नघटेको पुरी सप्लायर्सका सुवास पुरीले बताउनुभयो ।